उत्तरी मोरङको एक अब्बल सामुदायिक स्कुल, जो सुकुम्बासीको नियति भोगिरहेको छ

  • १३ पुष २०७६, आईतवार

पठनपाठन र नतिजाको हिसाबले उत्तरी मोरङकै अब्बल विद्यालय बन्न सफल मोरङ बेलबारी २ मा अबस्थित कबिर माध्यमिक  विद्यालयले भौतिक साधन स्रोतको चरम समस्या झेल्दै आएको छ ।

विद्यालयले हालै गरेको ३४ औ वार्षिकोत्वसमा प्रधानाध्यापक दुर्गाप्रसाद गौतमले पेश गरेको प्रगति प्रतिवेदनका अनुसार हालसम्म विद्यालयको आफ्नै जग्गा जमीन छैन  । विद्यालय प्रशासनका अनुसार विद्यालयमा अहिले पनि पर्याप्त कक्षाकोठा छैनन् । पक्की १० र कक्ची ६ कोठा गरी स्कुलमा १६ वटा कोठाहरु छन् ।

त्यसबाहेक कम्प्युटर ल्याबका लागि भवन निर्माण भएपनि आर्थिक स्रोत अभावमा छानो लगाउने काम बाँकी रहेको प्रधानाध्यापक दुर्गा गौतमले बताए । त्यतिमात्र होइन, त्यहाँ मावि तहको दरबन्दी पनि छैन । खेलमैदान त कुरै छाडौं, विद्यालयको नाममा अहिलेसम्म कुनै जग्गा नै छैन । यतिसम्म कि अहिले विद्यालयले भोगचलन गरिरहेको करिब ५ कट्ठा जग्गा समेत अझैसम्म कबिर मन्दिरको स्वामित्वमा जग्गा मन्दिरले विद्यालयले भोगचलन गर्दै आएको जग्गा स्कुललाई रजिष्टे«सन पास गरिदिने सम्झौता गरेको भएपनि सो सम्झौता कार्यान्वयनमा नआउँदा विद्यालय ‘सुकुम्बासी’ सरह भएको छ ।

विद्यालयमा केही बर्षयता दाताको सहयोगमा कम्प्युटर ल्याब समेत संचालन हुँदै आएको छ । ९ वटा कम्प्युटर सेटबाट ५४ वटा मनिटर मार्फत कम्प्युटर ल्याब संचालन गरिएको छ । विद्यालयले सहारा नेपालको सहयोगबाट बेलबारी २ लालभित्तिमा १३ धुर जग्गा खरिद गरी अपांग तथा दृष्टिबिहिन विद्यार्थीहरुका लागि छात्राबास समेत निर्माण गरेको छ । सो छात्राबासको निर्माण अन्तिम चरणमा पुगेको विद्यालयले जनाएको छ ।

कबीर माविमा बिगत १२ बर्षदेखि दर्जनभन्दा बढी दृष्टिविहिन विद्यार्थीहरु समेत अध्ययनरत छन् । यस विद्यालयमा कक्षा १० सम्ममा ६ सय ८९ जना विद्यार्थी अध्ययनरत छन् । वि.सं २०४३ सालमा स्थापना भएको विद्यालयले २०७० सालदेखि कक्षा १० सम्म कक्षा संचालन गर्दै आएको छ । – अम्बिका भण्डारी