शुरु भो केराबारीको ऐतिहासिक तथा धार्मिक मच्छिन्द्रनाथ मेला, घुम्न जाने होइन ?

  • १५ पुष २०७६, मंगलवार

केराबारीको ऐतिहासिक पहिचान बोकेको धार्मिक तथा सांस्कृतिक मच्छिन्द्रनाथ मेला मंगलबारबाट सुरु भएको छ ।

केराबारी ८ स्थित खेलमैदानमा सूरु भएको मेलाको केराबारी गाउँपालिका प्रमुख रोहित कार्कीले उद्घाटन गरेका छन्  । सहकाल र पानीका देउताको रूपमा परिचित योगी मच्छिन्द्रनाथको प्रतिमामा  पूजा अर्चना गरिएपछि दिउंँसो मेलाको औपचारीक उद्घाटन गरिएको थियो ।

भ्रमणवर्ष २०२० लाई प्रर्वद्धन गर्दै प्रचारप्रसार गर्ने र स्थानीय व्यापार प्रर्बद्धनसंगै कृषि जन्य वस्तुको प्रर्बद्धन गर्ने उदेश्यले आयोजित मेला पौष १५ देखि २१ सम्म संञ्चालन हुनेछ । मेलाको पहिलो दिन मंगलबार सांँझ नेपाली कथानक चलचित्र रेसको च्यारिटी सो सहित विभिन्न सास्कृतिक कार्यक्रम गरिएका छन् ।  वुधबार खेलकुद प्रतियोगिता सहित गायक एस कुमारको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

केराबारीलाई कृषि तथा पर्यटनसंग जोड्दै गाउँपालिकाभित्र रहेका पर्यटकीय गन्तब्यहरुको प्रचार प्रसार गर्ने र कृषि जन्य वस्तुको व्यापार व्यवसाय प्रबर्द्धन गर्ने मेलाको मुख्य उद्देश्य रहेको मेला आयोजक समितिले जनाएको छ । ‘प्रविधि र कला सहितको स्थानीय पहिचान, भ्रमण वर्ष २०२० को उत्थान” भन्ने मुल नाराका साथ आयोजित मेला पौष १५ देखि माघ २१ सम्म सञ्चालन हुनेछ  ।

२० देखि २५ लाख खर्च हुने अनुमान गरिएको मेलाको खर्च  विभिन्न प्रायोजक तथा स्टल र टिकट विक्रीबाट व्यवस्थापन गरिने आयोजक समितिका सचिव विमल लिम्बूले वताए । मेलालाई ब्यबस्थित, सभ्य र भव्य रुपमा सम्पन्न गर्न स्वयमसेवक, खेलकुद, सांस्कृतिक, प्रचार प्रसार, अतिथी सत्कार जस्ता विभिन्न उपसमिति गठन गरिएको मेला समितिका अध्यक्ष टंकवहादुर लिम्बुले बताए ।

मेलामा स्थानीय उत्पादनहरुको प्रर्वद्धन, सहित स्थानीय मौलिक खाना, कृषिदेखि आधुनिक बजारका स्टलहरु रहनेछन्  । मेलामा प्रमोद खरेल, आस्था राउत, सुगम पोख्रेल, टंक बुढाथोकी, दुर्गेश थापा ,हास्य कलाकारहरु उमेश राई फुलेन्देकी आमा र बाल कलाकार अशोक दर्जी लगायतका राष्ट्रिय कलाकारहरु आउनेछन् ।  साथै दैनिक  विभिन्न जनजातिहरुको सांस्कृतिक नृत्य र झाँकी प्रस्तुत हुने आयोजकले जानकारी दिएका छन्  ।

परापूर्व कालदेखि संञ्चालन हुँदै आएको  मच्छिन्द्र मेला द्धन्द्धकालिन समयसंगै विचमा १७ वर्षजति स्थगित भएको थियो ।  स्थानिय समाजसेवी, ब्यबशायी र राजनीतिक दलको पहलमा बिगत चार बर्षदेखि मेला लाग्दै आएको छ ।