दोस्रो कुसुमे उधौली कप २०७६ को हर हिसाब सार्वजनिक

  • २२ पुष २०७६, मंगलवार

मोरङ केराबारी ९ मा रहेको कुसुमे साइनिङ क्लबले दोस्रो कुसुमे उधौली कप २०७६ को हर हिसाब सार्वजनिक गरेको छ ।

क्लबले मंगलबार पत्रकार सम्मेलन गरी हर हिसाब सार्वजनिक गरेको हो । केराबारी ९ स्थित देवीझोडा सामुदायिक वनको परिसरमा गरिएको पत्रकार सम्मेलनमा क्लबका पदाधिकारी, स्थानीय संघ संस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरुको उपस्थिति थियो ।

मंसिर २० गतेदेखि २६ गतेसम्म भएको दोश्रो कुसुमे उद्यौली कप २०७६ को मंगलबार सार्वजनिक गरिएको हर हिसाब अनुसार प्रतियोगिताका क्रममा जम्मा विभिन्न दाताहरूबाट ४ लाख ७१ हजार ९ सय १२ रुपैयाँ आम्दानी भएको थियो । प्रतियोगिताका क्रममा ३ लाख ९५ हजार ६ सय ५६ रुपैयाँ खर्च भएको र ७६ हजार २ सय ५६ रुपैयाँ मौज्दात रहेको आयोजक कुसुमे साइनिङ क्लबका सचिव अमर राइले जानकारी दिए । प्रतियोगिताबाट बचत भएको  रकमले कार्यलयको लागि फर्निचर खरिद गर्ने र फुटबल प्रशिक्षण संचालन गर्ने योजना  रहेको क्लबले जनाएको छ ।

प्रतियोगिताका लागि देवीझोडा सामुदायिक वनले ८२ हजार, केराबारी ९ वडा कार्यालयले ५० हजार र केराबारी गाउँपालिका, थ्री प्वाइन्ट रिसोर्ट र सयपत्री मल्टीपर्पोज ले ३१ / ३१ हजार सहयोग गरेका थिए । अन्य ब्यक्ति तथा संंघसंस्थाबाट पनि राम्रै  आर्थिक सहयोग प्राप्त भएको थियो ।

आयब्यय सार्वजनिक कार्यक्रममा क्लबका अध्यक्ष लिम्बुले प्रतियोगिताका लागि आर्थिक, नैतिक, भौतिक सहयोग गर्ने सम्पुर्ण सहयोगी र दाताहरुलाई धन्यवाद ब्यक्त गरे । प्रतियोगिताका संस्करणलाई आगामी बर्षहरुमा पनि निरन्तरता दिने उनले बताए ।

उद्यौली पर्वको अवसरमा आयोजित खुल्ला नकआउट फुटबल प्रतियोगितामा रोयल फुटबल क्लव दमक, ईटहरी फुटबल क्लव सुनसरी, सशस्त्र प्रहरी वल पूर्वाञ्चल, लेटाङ फुटबल क्लव, पथरी फुटबल क्लव, बेलबारी फुटबल क्लव , डाँगीहाट फुटबल क्लब र आयोजक कुसुमे साईनिङ क्लबले भाग लिएका थिए । सशस्त्र  प्रहरी बल (एपियफ) पूर्वाञ्चललाई ट्राइबेकरमा पराजित गर्दै रोयल फुटबल क्लब दमकले ५१ हजार नगद सहित प्रतियोगिताको उपाधि जितेको थियो ।

कुसुमे साइनिङ क्लब २०७४ बैशाखमा स्थापना भएको थियोे । त्यसै बर्ष यो क्लब जिल्ला प्रसासन मोरङमा दर्ता भएको थियो । खेलकुद र विभिन्न सांगीतिक तथा सांस्कृतिक कार्यक्रमहरु आयोजना तथा विभिन्न सामाजिक काम गर्दै आएको क्लबको स्वामित्वमा ४ कठ्ठा ७ धुर जग्गा रहेको सो जग्गामा सामुदायिक भवन बनाउने योजना रहेको क्लबका अध्यक्ष भक्तशेर लिम्बूले बताए ।