रमिते सामुदायिक वनले गरिदियो बिपन्न ७० परिवारको नि:शुल्क स्वास्थ्य बीमा

  • २६ पुष २०७६, शनिबार

मोरङ बेलबारी २ लालभित्तिस्थित रमिते सामुदायिक वन उपभोक्ता समुहले विपन्न परिवारका उपभोक्ताहरुको स्वास्थ्य विमा गरिदिएको छ ।

नेपाल सरकारले ल्याएको स्वास्थ्य विमा कार्यक्रम अन्तरगत बीमा शुल्क तिर्न नसक्ने विपन्न ७० परिवार उपभोक्ताको वन समुहको गरिबी निवारण कार्यक्रम अन्तरगत स्वास्थ्य विमा गरिदिएको अध्यक्ष प्रेम राईले बताए ।

शनिबार वनले लालभित्ति चोकमा आयोजना गरेको रक्तदान तथा बिपन्नको लागि स्वास्थ्य बीमा कार्यक्रममा बेलबारी २ का वडाध्यक्ष घनश्याम गौतमले केही उपभोक्ताहरुलाइ स्वास्थ्य बीमा कार्ड प्रदान गरे ।

स्वास्थ्य जस्तो महत्त्वपूर्ण र संवेदनशील क्षेत्रमा सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रममा कोही उपभोक्ताहरु सेवा लिनबाट बन्चित नहोउन् भनेर उक्त कार्यक्रम ल्याईएको राईले बताए ।

बेलबारी नगरपालिकामा २०७६ असोज ७ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम शुरु गरिएको थियो । मोरङमा २०७६ भदौ दोस्रो हप्तादेखि स्वास्थ्य बीमा कार्यक्रम शुरु गरिएको थियो ।

स्वास्थ्य बीमा कार्यक्रम अनुसार पाँच जनासम्मको परिवारले ३५ सय रकम तिरेमा १ लाख सम्मको सेवा प्राप्त गर्न  सक्नेछन् । परिवारमा पाँच जनाभन्दा बढी सदस्य भएमा थप ७ सय ५० रुपैयाँ तिर्नुपर्छ ।

तर ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक,कुष्ठरोगीको परिवार, एमडीआर टीबी भएकाको परिवार, एचआइभी संक्रमितको परिवार र पूर्णअपाङ्गता भएका परिवारले निःशुल्क रुपमा १ लाख सम्मको स्वास्थ्य बिमाबाट उपचार गराउन सक्ने ब्यबस्था गरिएको बीमा बोर्डलेे जनाएको छ ।