तेस्रो सतासी गोल्डकपको भब्य तयारी, भारत र नेपालका प्रतिष्ठित क्लबहरुबिच प्रतिस्पर्धा हुने

  • ५ माघ २०७६, आईतवार

भरत शिवाकोटी, झापा / खेलकुद क्षेत्रका अगुवाहरु एवम्  खेलकुदप्रेमीहरु रहेको झापाको शिव सतासीधाम स्पोर्टिङ क्लबले यो बर्ष पनि सताक्षी गोल्डकप आयोजना गरेको छ ।

बिक्रम सम्बत २०७३ देखि हरेक बर्ष संचालन हुँदै आएको तेस्रो सतासी गोल्डकप आउँदो फागुन ३ गते देखि १० गतेसम्म संचालन हुने भएको हो । मुल आयोजक समिति सतासीधाम स्पोर्टिङ्ग क्लबले आइतबार शिवसताक्षी नगरको झिलझिले स्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा पत्रकार सम्मेलन गर्दै खेल तयारीको बारेमा जानकारी दिएको हो ।

गोल्डकप प्रतियोगितामा भारतका टिम सहित नेपालका प्रतिष्ठित क्लबहरु नेपाल आर्मी क्लब, मनाङ मर्स्याङ्गदी क्लब, थ्रीस्टार क्लब, मच्छिन्द्र फुटबल क्लब, रुपन्देही ११, च्यासल युथ क्लब र आयोजक झापा समेतको सहभागी हुनेछन् । खेल अखिल नेपाल फुटबल संघ (एन्फा) ले बनाएको मापदण्ड तथा तालिका अनुसार हुने क्लबका उपाध्यक्ष फुर्वा तामाङले जानकारी दिए ।

कुल ७६ लाख खर्चमा सम्पन्न हुने अनुमान गरिएको प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः ६ लाख र ३ लाख नगद पुरस्कार प्राप्त गर्ने आर्थिक विभाग प्रमुख सनम इजमले जानकारी दिए  । प्रतियोगितामा म्यान अफ दी सिरिजको पुरस्कार ५० हजार, हाइ स्कोररलाई २५ हजार, उत्कृष्ट मिड फिल्डरलाई २० हजार, उत्कृस्ट फरवर्डलाई २० हजार , उत्कृस्ट डिफेन्सलाई २० हजार, उत्कृस्ट गोलरक्षकलाई २० हजार, बेष्ट कोचको पुरस्कार राशी समेत २० हजार र म्यान अफ दी म्याच बन्ने खेलाडीलाई ५ हजार पुरस्कार राशी रहेको आयोजकले जनाएको छ ।
सरकारले सन् २०२० लाई नेपाल भ्रमण बर्षको रुपमा मनाइरहेको परिप्रेक्ष्यमा सताक्षी गोल्डकपले आन्तरिक तथा वाहिय पर्यटकलाई दर्शकको रुपमा खेल हेर्न निम्त्याउने आयोजक समितीका अध्यक्ष रमेश लावतीले  बताए । सात हजार भन्दा बढी दर्शकले प्यारापिटमा रहेर खेल हेर्दै मनोरंजन लिन सक्ने गोल्डकपको आर्थिक व्यवस्थापन चुनौतीपूर्ण रहेपनि योजनाबद्द रुपमा आम खेलप्रेमीहरु सगै शिवासताक्षी नगरपालिकाका नगरवासीहरुको साथ र सहयोगमा गोल्डकप सफल हुने आयोजकले जनाएको छ ।

झिलझिलेस्थित स्थानीय गणेशमानसिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा हुने प्रतियोगिता प्रतिस्पर्धात्मक र रोचक रहने पुर्व अनुमान गरिएको छ । स्मरण रहोस सताक्षी गोल्डकपको पहिलो संस्करणको उपाधि नेपाल पुलिस क्लब र दोस्रो संस्करणको उपाधि त्रिभुवन आर्मीले हात पारेका थिए ।