पाठेघरका विरामी महिलाहरुलाई घोपामा लगेर उपचार गराउंँदै बेलबारी नगरपालिका 

  • ८ माघ २०७६, बुधबार

बेलबारी नगरपालिकाले केहि दिनअघि गरेको स्वास्थ्य शिबिरमा पाठेघरको सक्रमण देखिएका विरामीहरुलाई विपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा लगेर नि:शुल्क उपचार गराएको छ । पाठेघरका ७ जना विरामीहरुलाई नगरपालिकाले आफनै गाडीमा लगेर उपचार गराएको हो ।

बेलबारीको वाहुनी प्राथमिक स्वास्थ्य केन्द्र तथा कसेनी , बेलबारी , डांँगिहाट स्वास्थ्य चौकी र आधारभुत स्वास्थ्य केन्द्रमा गरिएको स्वास्थ्य शिवरमा भेटिएका पाठेघरको संक्रमण भएका विरामीहरुलाई उपचार गराइएको नगरपालिकाका स्वास्थ्य शाखाका संयोजक सन्तोष बिश्वकर्माले बताए ।

महिलाहरुमा दैनिक रोग बढ्दै जान थालेपछि नगरपालिकाले दुई हप्ताअघि महिला लक्षित स्वास्थ्य  शिबिर गरेको थियो ।
शिबिरमा ८ सय १४ जना महिलाको स्वास्थ्य परिक्षण गर्दा ९ जना महिलामा सक्रमण भेटिएको थियो । त्यसबाहेक ६० बर्ष भन्दा माथिका ५ जना महिलाहरुलाई रिङपेसरी समेत लगाइएको थियो । शिविरमा आङ खस्ने समस्याका १३ जना विरामीहरुको भेटिएका थिए । स्वास्थ्य शाखाका संयोजक बिश्वकर्माले अन्य ८ जनाको केहि समयपछि सल्यक्रिया गरिने बताए ।

नगरपालिकाले मृगौला, मुटु, बोनम्यारो, स्पाइनल इन्जुरी, र क्यान्स जस्ता गम्भीर पाँच प्रकृतिका बिरामीलाई  २५ हजारका दरले उपचार खर्च दिदै आएको छ । त्यस क्रममा तीन सय भन्दा वढी बिरामीहरुलाई २५ हजारका दरले राहत दिइसकेको नगरपालिकालेे जनाएको छ ।