तयार भो ट्राफिक प्रहरी कार्यालय बेलबारीको भवन, प्रदेश न.१ का कानुन मन्त्रीद्वारा उद्घाटन

  • ९ माघ २०७६, बिहीबार

करिब ५५ लाख लागतमा बेलवारीमा निर्मित ट्राफिक प्रहरी कार्यालय भवनको उद्घाटन भएको छ ।

प्रदेश न.१ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की र बेलवारी नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बुधबार  रिबन काटेर कार्यालयको औपचारिक उद्घाटन गरे  ।

समितिका कोषाध्यक्ष रुक्मिणी धिमालले पेश गरेको आर्थिक प्रतिवेदन अनुसार भवन निर्माणमा प्रदेश सरकार र नगरपालिकाले दिएको सहित ५८ लाख ११ हजार ७ सय ६८ रकम  उठेको थियो । भवन निर्माणमा ५५ लाख ५६ हजार ७९ रुपैयाँ खर्च भएको निर्माण समिति कोषाध्यक्ष धिमालले बताइन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले सडक सुरक्षामा अन्य प्रदेश भन्दा अब्बल भएको दाबी गर्दै प्रदेश नं. १ सरकारले प्रदेश प्रहरीको गठन चाडै गर्ने बताएका छन् । उनले केही राष्ट्रिय मिडियाले प्रदेश र स्थानीय सरकारलाई विकासमुखी काम नगरेको भ्रमपूर्ण समाचार छापेको गुनासो गरे ।

मन्त्री कार्कीले निर्माणमा सहयोग पुर्‍याउने सङ्घ संस्था, दातृ निकाय, व्यक्ति सबैलाई प्रदेश सरकारको तर्फबाट धन्यवाद व्यक्त गर्दै कार्कीले मोरङको दुई इलाकाहरू, इलाका प्रहरी कार्यालय बेलबारी र रंगेलीको स्तर वृद्धि गर्ने बताए  ।

कार्यक्रममा पूर्व सांसद हर्कमान तामाङ, बेलवारी नगर प्रमुख ज्ञानेन्द्र सुवेदी, १ न. प्रदेश प्रहरी प्रमुख भीम बहादुर दाहाल, केराबारी गा.पा प्रमुख रोहित कार्की, बेलवारी नगर उपप्रमुख ढाका कुमारी पराजुली लगायतको उपस्थिति थियो ।

ट्राफिक कार्यालय अनुगमन समितिका संयोजक महेन्द्र सुवेदीले कार्यक्रममा स्वगत मन्तव्य राखेका थिए । भवन उद्घाटन कार्यक्रम बेलवारी ट्राफिक प्रहरी कार्यालय उपभोक्ता समितिका अध्यक्ष प्रतापकुमार थापाको अध्यक्षता सम्पन्न भएको हो ।