मोरङको स्थानीय तहमै बिचौलियाको रजाइँ, नागरिकताको नाम सच्याइदिने भन्दै ६ लाख लिने पक्राउ

  • २६ माघ २०७६, आईतवार

विभिन्न कागजात बनाउन सहयोग गरेबापत वडा कार्यालयमै बसेर सर्वसाधारणबाट पैसा असुल्दै आएको एक बिचौलियाले नागरिकताको नाम सच्याइदिने भन्दै ६ लाख रकम घुस लिएको खुलेेको  छ ।

मोरङको बेलबारी नगरपालिका २ को वडा कार्यालय परिषरमा लेखापढीको काम गर्ने बिचौलिया तिर्थ गिरीको त्यस्तो हर्कत खुलेपछि आइतबार निज पक्राउ परेको छ । भारतीय सेनामा कार्यरत बेलबारी २ कै बमबहादुर लिम्बुको नागरिकताको नाम सच्याईदिए वापत विभिन्न ठाउँमा रकम बुझाउनुपर्ने भन्दै गिरीले सो रकम लिएका थिए । गिरीले त्यसरी रकम लिएको खुलेपछि उनलाई आइतबार इलाका प्रहरी कार्यालय बेलबारीले प्रमाण सहित नियन्त्रणमा लिएको छ ।
नागरिकतामा बमबहादुर नाम भएका लिम्बूको भारतिय सेनामा पदमबहादुरको नामबाट जागिर खाएका थिए । तर पेन्सन लिनका लागि नागरिकतामा पनि एउटै नाम पदमबहादुर नै बनाउनुपर्ने भएपछि लिम्बुले गिरीलाई भेटेका थिए ।

गिरीले लिम्बूले भने अनुसार नै नाम सच्याएर नागरिकता निकालिदिएका थिए ।  लिम्बुले गत पुष २८ गते गिरीलाई लालभित्तिस्थित एक होटलमा पैसा बुझाएका थिए । । लिम्बुका अनुसार गिरीले सुरुमा कागजहरु हेरेपछि १ लाख रुपैयाँमात्रै मागेका थिए । पछि सिडिओ कार्यालयमा समेत रकम बुझाउनेपर्ने भयो भन्दै गिरीले जम्मा ६ लाख रुपैयाँ लाग्ने बताएका थिए । आफुले केही नबुझेको र खर्च लाग्ने नै होला भन्ने लागेर काम हुने भएपछि आफुले जम्मा ६ लाख रुपैयाँ बुझाएको लिम्बूले बताए ।
बेलबारी २ का वडाध्यक्ष घनश्याम गौतमले सर्जिमिन लगायत सामान्य प्रकृयाहरु पुरा गरेर नागरिकता सच्याए पनि सो बापत रकम लिएको पछि मात्रै थाहा पाएको बताए । लिम्बुकै छिमेकी मार्फत आफुले यसबारे जानकारी पाएको गौतमले बताए । त्यसरी रकम लिएको सुनेपछि दुवैपक्षसँग कुरा गरेको र गिरीले रकम लिएको स्वीकारेको गौतमले बताए । गिरीले जिल्ला प्रसासन कार्यालय मोरङका टेकबहादुर श्रेष्ठ नाम गरेका कर्मचारी र विराटनगरकै अर्का एक व्यक्ति पनि यसमा संलग्न रहेको बताएको गौतमले जानकारी दिए ।
रकम लिएको खुलासा भएपछि गिरीले आइतबार नै रकम फिर्ता गर्ने भन्दै तत्काललाई ५ लाख रुपैयाँको चेक काटिदिएका थिए । उनको चेकमार्फत साटिएको ५ लाख रुपैयाँ रकम इलाका प्रहरी कार्यालय बेलबारीले बरामदी मुचुल्का तयार गरेर नियन्त्रणमा लिएको छ । गिरीलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा राखेको छ ।

यसरी नागरिकतामा नाम सच्याउने कार्य वडा कार्यालयबाट सहज र सामान्य प्रकृया अनुसार अघि बढेको भएपनि सामान्य कामका लागि त्यति ठुलो परिमाणको रकम माग गर्ने हिम्मत गिरी एक्लैले गरे वा यसमा अन्य पक्ष र पदिय जिम्मेवारीमा रहेकाहरुको पनि हात छ भन्ने खुलेको छैन ।  गिरी विरुद्ध अख्तियारमा मुद्दा अघि बढाइने इप्रका बेलबारीका प्रमुख गुणराज बुढाथोकीले जानकारी दिए ।

स्मरण रहोस् करिब डेढ बर्षअघि पुर्वेली डटकममा वडा कार्यालयमा यिनै बिचौलियाले सेवाग्राहीबाट मनपरी पैसा असुलेको समाचार प्रकाशित भएको थियो । समाचार प्रकाशित भएपछि वडा कार्यालयले सेवाग्राहीबाट लिन पाउने शुल्क निर्धारण गरेको थियो ।

यो पनि …

वडा कार्यालयमा सेवाग्राहीबाट मनपरी पैसा असुल्दैै बिचौलिया, जनप्रतिनिधिहरुको बेवास्ता