बेलबारीमा आदिवासी जनजाति साँस्कृतिक तथा पर्यटन महोत्सवको रौनक, तयारी अन्तिम चरणमा

अम्बिका भण्डारी

  • १६ फाल्गुन २०७६, शुक्रबार

मोरङको बेलबारीमा आयोजना गरिएको आदिवासी जनजाति साँस्कृतिक तथा पर्यटन महोत्सव २०७६ को तयारी अन्तिम चरणमा पुगेको छ ।

फागुन १७ गते अर्थात भोलि शनिबारदेखि २४ गतेसम्म हुने महोत्सवको उद्घाटन मुख्यमन्त्री शेरधन राइले गर्ने कार्यक्रम तय भएको छ । उद्घाटन कार्यक्रममा प्रदेश १ का सामाजिक बिकास मन्त्री, उद्योग तथा वन मन्त्री लगायत मोरङका ७ वटा स्थानीय तहका प्रमुखहरूको उपस्थिति रहने छ । उद्घाटन कार्यक्रममा आदिबासी जनजाति महासंघमा आबद्ध विभिन्न जातजाति तथा शैक्षिक संस्थाहरुका झाँकीहरु प्रस्तुत हुनेछन् ।

आयोजकका अनुसार महोत्सवका लागि ठाउँ ठाउँमा गेट निर्माण भइसकेका छन् । त्यसैगरी महोत्सव स्थलमा स्टल तथा बाल उद्यान निर्माणको काम पनि अन्तिम चरणमा पुगेको स्टल ब्यबस्थापन संयोजक रन्जित गुरुङले बताए । महोत्सवमा ३४ वटा स:शुल्क तथा २१ वटा नि:शुल्क गरी ५५ वटा स्टलहरु रहनेछन् ।

जसमध्ये आदिबासी जनजाति महासंघमा आवद्ध राई, लिम्बू, गुरुङ, तामाङ, नेवार, माझी, धिमाल, राजबंशी, याख्खा, सुनुवार, भुजेल, दनुवार, उराव, मगर, थारू र खवास गरी १६ वटा जातजातिका अलावा आर्य, शिल्पी समुदायका स्टल तथा एक आर्गानिक चिया सहित २१ वटा नि:शुल्क स्टलहरु रहनेछन् । जातीय स्टलहरुमा संस्कार, संस्कृतिका अलावा जातजातिका खानाका मौलिक परिकारहरु रहने आयोजक नेपाल आदिबासी जनजाति महासंघ बेलबारीका सचिव मनकुमार गुरुङले जानकारी दिए ।

महोत्सवमा आदिवासी र जनजाति समुदायका जातजातिलाई निशुल्क स्टल दिइने मात्र नभई जातीय मौलिकता प्रबर्द्धन गर्न प्रोत्साहन स्वरुप ३० हजार समेत उपलब्ध गराइएको र उद्घाटनको दिन प्रत्येक समुदायको लागि आवतजावत गर्न छुट्टाछुट्टै गाडीको समेत ब्यबस्थापन गरिएको महोत्सव आयोजक समितिका संयोजक तथा नेपाल आदिबासी जनजाति महासंघ बेलबारीका अध्यक्ष तिलकप्रसाद राइले बताए ।
यस्ता छन् महोत्सवका उद्देश्य
महोत्सवमा राखिने जातीय स्टलहरु मार्फत जात जातिका मौलिक परम्परा, संस्कार, रहनसहन र खानपिनको प्रबर्द्धनका लागि तीन तहकै सरकारहरुको ध्यानाकर्षण गराउने लक्ष्य लिइएको छ ।
महोत्सव आयोजक समितिका संयोजक तथा नेपाल आदिबासी जनजाति महासंघ बेलबारीका अध्यक्ष तिलकप्रसाद राइका अनुसार जनजाति एबम पिछडिएका जाती समुदायले महोत्सवमा राखिएका स्टलबाट गरेको आम्दानीबाट कोष खडा गरी उनीहरूकै जातीय बिकासमा लगाउन प्रोत्साहन गरिनेछ । त्यसैगरी जातजातिको मौलिक खानपिनलाई आर्गानिक बनाउने र त्यसलाई ब्यबशायिक बिकास गरी आय आर्जनको श्रोत बनाउन प्रेरित गर्ने उद्देश्य पनि लिइएको राइले बताए ।

महोत्सव अबधिभर दिउँसो महासंघमा आवद्ध सबै जाति तथा समुदायको दैनिक प्रस्तुतिहरु हुनेछन् । महोत्सवमा हरेक साँझ राजेश पायल राइ, प्रमोद खरेल, शिव परियार, आस्था राउत, मनोज गजुरेल, सन्दीप क्षेत्री, सत्यकला राइ, पार्वती राई, कृष्णभक्त राइ, अस्मिता अधिकारी, साजन राई, भीषण मुकारुङ, मेचु धिमाल रुपकुमार राई, तृष्णा गुरुङ, सुनिता थेगिम लगायत पुर्वेली तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार महोत्सवमा मौलिक खानपिनका परिकारका अलावा कृषि तथा उद्योगबाट उत्पादित सामग्री, अटोमोबाइल्स, होटल लगायत विभिन्न खाले स्टलहरु रहने छन् ।