बिर्तामोडमा हुनेभो तिनदिने बहुसांस्कृतिक तथा आध्यात्मिक पर्यटन महोत्सव, तयारी तीब्र
- १७ फाल्गुन २०७६, शनिबार
भरत शिवाकोटी,झापा / नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन एवं कला र संस्कृतिको संरक्षण र सम्बर्दन गर्ने उदेश्यका साथ झापाको बिर्तामोडमा ‘’बहुसांस्कृतिक तथा आध्यात्मिक पर्यटन महोत्सव-२०७६’’ हुने भएको छ ।
महोत्सवले आन्तरिक तथा बाह्य पर्यटनलाई समेत विशेष महत्व दिने गरि ग्लोबल मल्टिकल्चरल अर्गनाइजेसनको आयोजनामा फागुन २३, २४ र २५ गते महोत्सव आयोजना गरिएको हो । अर्गनाइजेसनका अध्यक्ष लक्ष्मीप्रसाद बुढाथोकीले दिएको जानकारी अनुसार महोत्सवको मुख्य उदेश्य बहुसांस्कृतिक, धार्मिक तथा पर्यटनलाई एउटा फुलको मालामा उनेर सदभाव कायम गर्दै झापामा बढी भन्दा बढी आन्तरिक तथा वाहय पर्यटक भित्र्याउनु रहेको छ ।
फागुन २३ गते शुक्रवार पवित्रधाम कनकाई नदीको किनारमा पाँच हजार भन्दा वढीको सहभागितामा गंगा आरती गरी महोत्सवको शुभारम्भ गरिनेछ । २४ र २५ गते बिर्तामोड स्थित सुगम पेट्रोलपम्प छेउको खुलाचौरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याती प्राप्त स्रस्टाहरुलाई सम्मान , विभिन्न जातजातिका झाँकी , नृत्य लगायतका विविध कार्यक्रम गरिने शनिवार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
महोत्सवको कार्यक्रममा सबै धर्म सम्प्रदायका गुरुहरुले प्रवचन समेत गर्ने बताइएको छ । सुगम पेट्रोलपम्प छेउको खुलाचौरमा हुने महोत्सवको उद्घाटन प्रदेश–१ का आन्तरिक तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले गर्ने ग्लोबल मल्टिकल्चरल अर्गनाइजेसनका अध्यक्ष बुढाथोकीले जानकारी दिए । महोत्सवमा हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आर्चायलाई राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गरिनेछ । त्यसैगरी गायक प्रितम आर्चाय र गायिका मेनुका पौडेललाई अन्तराष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गरिने भएको छ ।
त्यसैगरी मल्टिट्यालेन्ट पुरस्कार, वरिष्ठ गायन, ज्येष्ठ नागरिक पुरस्कार, साहित्यकार, सामाजिक संघ-संस्था, वाद्यवाधक, नाट्य, मुक्ति कला, सञ्चारक्षेत्र लगायतका विविध क्षेत्रमा समेत महोत्सवमा पुरस्कार प्रदान गरिने बताइएको छ । महोत्सवमा धर्मदास बुढाथोकी (वरिष्ठ भजन गायक) राजनराज शिवाकोटी ( लोकप्रिय गायक,संगीतकार,गीतकार ), मनोज गजुरेल, मेनुका पौड्याल, प्रितम आचार्य (सारेगमप लिटल च्याम्पिन ) संँगै शास्त्रीय गायनमा लोकपृय नृत्यङ्ना भनेर चिनिने कलाकार सुजता बरालको प्रस्तुति रहनेछ । दुर्गा प्रसाद, नारायण अनन्त, प्रजापति, चितानन्द ढुङ्गेल,राज अधिकारी आदि कलाकार को बेजोड प्रस्तुती का साथमा अन्य कलाकारहरुको समेत सहभागिता रहने आयोजकले जनाएको छ ।
महोत्सव सफल पार्न बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईको संयोजकत्वमा महोत्सव आयोजक मूल समिति गठन गरिएको छ । समितिको सह-संयोजकमा ध्रुवप्रसाद शिवाकोटी, सचिव माधव कल्पित, सह–सचिव कञ्चना ढकाल (सिटौला) र गोपाल खनाल रहेका छन् । सदस्यहरुमा उमा शिवाकोटी, शंकर भट्टराई, घनश्याम चौधरी, देवी गिरी, लक्ष्मी गौतम, पदम प्रसाई, मिजास पोख्रेल, सुस्मा पौडेल, गजेन्द्र पौडेल, राजकुमार शाह, सजेश शिवाकोटी, नारायण चिमरिया, राजु न्यौपाने, बलराम कार्की, सुवास भट्टराई, र देवीभक्त श्रेष्ठ रहेका छन ।
लामो समयदेखि नेपालको विभिन्न क्षेत्रमा काम गर्दै आएको ग्लोबल मल्टिकल्चरल अर्गनाइजेसन २०१९ मा विधिवत रुपमा सामाजिक संस्थाका रुपमा दर्ता भएको थियो । संस्थाले गत माघमा काठमाडौं भीमसेनगोलामा अवस्थित कालिनागेश्वर मन्दिरमा भव्य कार्यक्रम सम्पन्न गरेको थियो ।