उपचारमा खटिने सबै स्वास्थ्यकर्मीलाई नोबेल अस्पतालले गर्यो पीपीईको व्यवस्था

  • १८ चैत्र २०७६, मंगलवार

सरकारले सरकारी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई समेत पर्याप्त पीपीई उपलब्ध गराउन नसकिरहेका बेला बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालले उपचारमा खटिने आफ्ना सबै स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) को व्यवस्था मिलाएको छ ।

विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट स्वास्थ्यकर्मीलाई जोगाउन र स्वास्थ्यकर्मीबाट बिरामीमा संक्रमण फैलन नदिन अस्पताल प्रशासनले सबै स्वास्थ्यकर्मीलाई पीपीईको व्यवस्था मिलाएको हो ।

संक्रमण फैलिरहेका बेला उपचारमा खटिने सबै डाक्टर, नर्स र स्वास्थ्य प्राबिधिकहरुलाई पीपीई उपलब्ध गराईएको अस्पताल सञ्चालक डा.सुनिल शर्माले जानकारी दिए । ‘बिरामीको उपचारमा अहोरात्र खटिने स्वास्थ्यकर्मीहरु संक्रमणको जोखिममा हुँने र स्वास्थ्यकर्मीबाट पनि बिरामीमा संक्रमण फैलन सक्ने हुनाले जोखिम न्यूनिकरणका लागि पीपीईको व्यवस्था मिलाएका हौं ।’ डा.शर्माले भने ‘तत्कालका लागि २ सय २५ थान पीपीई ल्याएका छौ । आवश्यकता अनुसार अझै थप गर्छौ ।’

उपचारमा खटिने सबै स्वास्थ्यकर्मीलाई स्वास्थ्य सुरक्षाकवज उपलब्ध गराउने नोबेल पूर्वी नेपालको पहिलो अस्पताल हो । मुलुकमा कोरोना संक्रमित बिरामीको संख्या बृद्धि भएर जोखिम बढ्दै गएको अवस्थामा सबै स्वास्थ्यकर्मीले पीपीई लगाएर उपचारमा खटिन पाउँदा जोखिम न्यूनिकरण भई आत्मावल बढेको नोबेलको आकस्मिक कक्षका इन्चार्ज डा.अमित अग्रहरी बताउँछन् ।

निजी क्षेत्रबाट सञ्चालित पूर्वी नेपालको सबैभन्दा ठूलो अस्पताल नोबेलले पीपीई उपलब्ध गराएपछि त्यहाँ कार्यरत  स्वास्थ्यकर्मीहरुको मनोबल बढेको छ भने उनीहरूले सुरक्षित भएको महसुस पनि गरेका छन् ।  स्वास्थ्यकर्मीबाट बिरामीमा संक्रमण फैलनसक्ने जोखिम पनि न्यूनिकरण भएको छ ।

त्यस्तैगरी नोबेलले उच्च ज्वरो आएका तथा कोरोना संक्रमणको लक्षण देखिएका बिरामीको परिक्षणका लागि आकस्मिक कक्ष नजिक बेग्लै उपचार कक्ष पनि निर्माण गरेको छ ।

स्मरण रहोस् नोबेलले यसअघि हस्पिटललाई कोरोना उपचार केन्द्र बनाउन आवश्यक परे तीन महिनासम्म दिने घोषणा गरेको थियो ।