लकडाउनका कारण काठमाण्डौंमा अलपत्र धनकुटेलीहरुले दुई-तीन दिनमै फर्कन पाउने भए घर

  • १४ बैशाख २०७७, आईतवार

लकडाउनका कारण काठमाडौंमा अलपत्र परेका धनकुटेलीलाई धनकुटा ल्याइने भएको छ ।

काठमाण्डौंमा अलपत्र परेकाहरुलाई सहयोग गर्न जिल्लाबासीहरुको सहभागितामा निर्माण गरिएको धनकुटा–काठमाडौं कोरोना विपत सहयोग समितिको संयोजन राजनीतिक दल तथा स्थानीय तहहरुको पहलमा उनीहरूलाई घर फर्काउन लागिएको हो ।

जिल्लाका सात वटै पालिकासँग समन्वय गरी १४ दिन अनिवार्य क्वारेनटाइन बस्ने सर्तमा दुई तिन दिनभित्रै उनीहरुलाई धनकुटा ल्याउने तयारी भइरहेको सांसद राजेन्द्र राईले जानकारी दिए । खासगरी काठमाडौंमा अलपत्र परेका बिरामी, मजदुर, बिद्यार्थी लगायतलाई ल्याउन जिल्लाका सात वटै पालिकाहरुसँग समन्वय गरिएको उनले बताए ।

काठमाण्डौंमा अलपत्र परेकाहरुलाई सहयोग गर्न निर्माण गरिएको धनकुटा–काठमाण्डौं कोरोना विपत सहयोग समितिका संयोजक तथा संविधानसभा सदस्य हेमराज भण्डारीका अनुसार अहिले काठमाण्डौंमा करिव १२ सय धनकुटेली सम्पर्कमा आएका छन् । उनीहरुमध्ये जिल्लाका सात वटै पालिकाका करिव ६ सय भन्दा बढीले आफुहरु अलपत्र परेको भन्दै जिल्ला पुर्याइदिन आग्रह गरेको उनीहरुमध्ये अलपत्र परेकाको प्राथमिकताक्रम छुट्याएर जिल्ला ल्याउन लागिएको उनले बताए ।

लकडाउनका कारण काम नपाएर काठमाण्डौंमा हातमुख जोर्न समस्या भएका धनकुटीलीहरुलाइ केही दिनयता धनकुटा–काठमाण्डौं कोरोना विपत सहयोग समिति मार्फत सहयोग जुटाएर खाने ब्यबस्था समेत गर्दै आएको भण्डारीले बताए ।

कुनै कामले केही दिनका लागि काठमाडौं गएर घर फर्कन नपाएकाहरुलाइ पहिलो प्राथमिकता दिइएको छ । त्यस्तै परिवार धनकुटामा भएका तर काठमाण्डौ गएर दैनिक ज्यालादारी मजदुरी गरी जीविका चलाइरहेकाहरुलाई दोस्रो र अध्ययनको सिलसिलामा बस्दै आएका बिद्यार्थी तथा काठमाण्डौ स्थायी बसोवास नभएका धनकुटेलीलाई तेस्रो प्राथमिकतामा राखेर जिल्ला ल्याउने तयारी गरिएको धनकुटा–काठमाडौं कोरोना विपत सहयोग समितिले जनााएको छ ।

व्यक्तिको यात्रा विवरण र स्वास्थ्य मुल्यांकन गरी पालिकाहरुमा निर्माण गरिएको क्वारेनटाइन वा होम क्वारेनटाइनमा बस्नुपर्ने व्यवस्थालाई अनिवार्य गर्ने सांसद र सबै स्थानीय पालिकाहरुबिच सहमति भएको चौबिसे गाउँपालिका प्रमुख खजिन्द्र राईले जानकारी दिए ।