मोरङकै ठुलो ग्रामीण सुधार सामुदायिक वनमा आन्तरिक किचलो, घाटगद्दीमै कुहिन लाग्यो एक करोडको काठ

  • १८ जेष्ठ २०७७, आईतवार

कानेपोखरी गाउँपालिका–७ स्थित मोरङको सबैभन्दा ठुलो ग्रामीण सुधार सामुदायिक वन उपभोक्ता समुहको करिब एक करोड बराबरको काठ घाटगद्दीमै सडिने अबस्थामा पुगेको छ ।

ग्रामीण सुधार सामुदायिक वन समूहमा भएको आन्तरिक कलहका कारण काठ कुहिने अबस्थामा पुगेको हो । शनिवार वन समूहले प्रेस बिज्ञप्ति जारी गर्दै गलत सूचनाका आधारमा उजुरी परेपछि करिब तीन वर्ष अघिदेखि काठ उपभोक्तालाई वितरण गर्न नपाउँदा काठ घाटगद्दीमै कुहिन लागेको जनाएको छ ।

ग्रामीण सुधार सामुदायिक वन उपभोक्ता समूह क्षेत्र नम्बर ३ को संयोजक शेरबहादुर लिम्बुले २१ लाख रुपैयाँको ‘फर्जी बिल’ मिलाएको भन्दै डिभिजन वन कार्यालय मोरङमा उजुरी गरेको कारण काठ कुहिने अवस्थामा पुग्न लागेको समूहका अध्यक्ष नवीन राईले बताए ।

लेखा समिति संयोजक बिजयगोपाल गड्तौलाका अनुसार काम गर्ने मजदुर तथा उपभोक्ता समेतलाइ भुक्तानी दिनुपर्ने र मूल र क्षेत्रीय समितिको साधारण सभा एवम् विभिन्न सभाहरूको खर्च समेत गरी करिब २१ लाख ऋण छ । पुरानो समितिले सम्पूर्ण हिसाब तरिनुपर्ने दायित्वमा राखिएको संयोजक गड्तौलाले बताए । गत असोजमा भएको साधारणसभाले राइकै नेतृत्वमा दोस्रो कार्यकालका लागि समिति गठन गरेको थियो ।

फर्जी विल भएको नभएको बारे खोजी गरी छलफलबाट प्रस्ट हुन अनुरोध गर्दा पनि  वनकै ३ नम्बर क्षेत्रीय अध्यक्ष शेरबहादुर लिम्बूले उजुरी गरेको र सोही कारण उपभोक्तालाई काठ वितरण गर्न नसकिरहेको मूल समूहको पूर्व उपाध्यक्ष तथा वर्तमान सदस्य कृष्ण थामिले बताए ।

मोरङ जिल्लामै सबभन्दा ठुलो वन ग्रामीण सुधारको ८३९.२२ हेक्टर क्षेत्रफल रहेको छ । यस वनमा क, ख र ग वर्ग गरी ६ हजार उपभोक्ता छन् । आर्थिक वर्ष २०७४/०७५ मा ३२ हजार कि बि साल लगायतको काठ काटेर घाटगद्दीमा राखिएकोमा करिब ११ हजार उपभोक्तालाई वितरण भएपछि किचलो सुरु भएको थियो । उजुरी परेयता करिब २१ हजार कि बि काठ लामो समयदेखि घाटगद्दीमै छ ।

वनले प्रकाशित गरेको प्रेस विज्ञप्तिमा अध्यक्ष नवीन राई, सचिव शान्ता माझी, कोषाध्यक्ष देवेन्द्र थापा, लेखा समिति संयोजक बिजयगोपाल गड्तौला, १ नम्बर क्षेत्रीय समिति संयोजक केदार राई, २ को दीपक लिम्बू, ३ नम्बर क्षेत्रको सहसंयोजक जितबहादुर राईको हस्ताक्षर रहेको छ ।