विश्रान्ति वृद्धाश्रमका ४६ जना जेष्ठ नागरिकहरूको आँखा जाँच

  • २० जेष्ठ २०७७, मंगलवार

धनकुटा । नेपाल नेत्रज्योति संघ धनकुटा, डाक्टर रामप्रसाद पोख्रेल आँखा अस्पताल धनकुटाले धनकुटाको मुलघाटमा रहेको विश्रान्ति वृद्धाश्रमका जेष्ठ नागरिकहरूको आँखा जाँच गरेको छ ।

वृद्धवृद्धाको आँखा सम्बन्धी उपचारका लागि निशुल्क उपचार शिविर संचालनमा ल्याइएको हो । शिविरमा वृद्धाश्रमका ४६ जना वृद्धवृद्धाको आँखा जाँच गरिएको हो । शिविरमा निशुल्क औषधि वितरण गरिएको र आँखा कमजोर भएका वृद्धवृद्धालाई निशुल्क चस्मा वितरण गरिने नेत्रज्योति संघ धनकुटाका अध्यक्ष रोषेश श्रेष्ठले जानकारी दिए।

निःशुल्क आँखा शिविरबाट ६५–९९ बर्ष सम्मका जेष्ठ नागरिक हरुले सेवा लिएका थिए । उक्त शिविरमा डाक्टर रामप्रसाद पोख्रेल आँखा अस्पतालका चिकित्सकले सेवा दिएको नेत्रज्योति संघ धनकुटाका सचिव देवबहादुर खड्काले जानकारी दिए।शिविर नेत्रज्योति संघका केन्द्रीय कोषाध्यक्ष दोर्ण प्रसाद गुरागाई, विश्रान्ति वृद्धाश्रम व्यवस्थापन समितिका महासचिव जनार्दन घिमिरेको उपस्थितिमा सम्पन्न भएको थियो।
विश्रान्ति वृद्धाश्रममा ६५ वर्षदेखि १ सय ६ वर्षसम्मका वृद्धवृद्धा बस्दै आएका छन।