लगानी सम्मेलनको तयारी गर्दै कोशी प्रदेश सरकार
- ४ बैशाख २०८२, बिहीबार
कोशी प्रदेश सरकारले आगामी वैशाख १८ र १९ गते विराटनगरमा ‘कोशी प्रदेश लगानी सम्मेलन २०८१’ आयोजना गर्ने भएको छ।
प्रदेशको आर्थिक समृद्धि, रोजगारी सिर्जना, र निजी क्षेत्रको सहभागिता अभिवृद्धिका लागि सम्मेलन आयोजना गर्न लागिएको हो। यसअघि गत माघमा गर्ने तय भएको लगानी सम्मेलन तयारी पुरा नभएको भन्दै स्थगित गरिएको थियो ।
पर्यटन वर्ष २०८२ लाई लक्षित गरी कोशी प्रदेशलाई लगानीमैत्री वातावरण बनाउने योजनाका साथ यो सम्मेलन आयोजना हुन लागेको प्रदेश सरकारले जनाएको छ । सम्मेलनमा संघीय सरकार, निजी क्षेत्र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ता, नीति निर्माणकर्ता र उद्योगी व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गएइएको छ।
कोशी प्रदेशमा लगानीको सम्भावना रहेका क्षेत्रमा ध्यान केन्द्रित गर्नु हो। कृषिजन्य उद्योग, पर्यटन, ऊर्जा, पूर्वाधार, सूचना प्रविधि, स्वास्थ्य सेवा, शिक्षा, वन तथा जलस्रोत, र उत्पादनमूलक उद्योग सम्मेलनका प्रमुख प्राथमिकतामा पर्नेछन्। प्रदेशमा सीमित स्रोतसाधनको अधिकतम उपयोग गरी दिगो विकासलाई आधार बनाउँदै रोजगारी सिर्जना गर्ने उद्देश्य लिएको प्रदेश सरकारले पहिलोपटक यस्तो उच्चस्तरीय लगानी सम्मेलन गर्न लागेको हो।
मुख्यमन्त्री हिक्मत कार्कीले सम्मेलनको तयारीलाई तीव्रता दिएको जानकारी दिए। सम्मेलनलाई प्रभावकारी बनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवालासँग समन्वय भइरहेको सचिवालयका सदस्य सचिव पवनकुमार तिम्सिनाले जानकारी दिएका छन्।
सम्मेलनमा तीन तहका सहभागी हुनेछन् नीति निर्माण तहका व्यक्तित्वहरू, निजी क्षेत्रका प्रतिष्ठित प्रतिनिधिहरू, र लगानीका खोजीमा रहेका संस्थाहरू । सम्मेलनका अवसरमा विभिन्न परियोजनाहरू प्रस्तुत गरिनेछ भने ५० भन्दा बढी परियोजना सोधभर्ना हुने सरकारले जनाएको छ।
कोशी प्रदेशको भौगोलिक र आर्थिक विशेषता, सुगम पहुँच, दक्ष जनशक्ति र उद्यमशीलताको मौकालाई सम्बोधन गर्दै कोशी प्रदेश सरकारद्वारा लिइएको यो अग्रसरता प्रदेशको आर्थिक रूपान्तरणमा महत्वपूर्ण माइलस्टोन बन्ने दाबी सरकारको छ ।
लगानी सम्मेलनमा आठ वटा क्षेत्रका करिब ५४ वटा परियोजना सोकेसिड हुने जनाईएको छ । सम्मेलनमा लगानीकर्ताले झन्डै डेढ खर्बको परियोजनामा एमओयु हुने प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा सरोज काेइरालाले जानकारी दिए ।





