सुकुना माध्यमिक विद्यालयमा विद्यार्थीहरुको ओइरो
- २६ बैशाख २०८२, शुक्रबार


विद्यार्थी अभावले धेरै सामुदायिक विद्यालयहरु तड्पिरहेका बेला मोरङ सुन्दरहरैंचामा अबस्थित सुकुना माध्यमिक विद्यालयमा यस बर्ष पनि नयाँ विद्यार्थीहरुको ओइरो लागेको छ ।
विद्यालयले बैशाख १९ गते भर्ना अभियान शुरु गरेकोमा अभियान शुरु भएको एक हप्ता नबित्दै विद्यालयमा पाँच सयभन्दा बढी नयाँ विद्यार्थी थपिएका छन् । बिगत बर्षहरुमा झैं यस बर्ष पनि विद्यार्थीहरुको आकर्षण बढ्दै गएको विद्यालयका प्रधानाध्यापक हिक्मत बहादुर बस्नेतले बताए ।
पुर्व प्राथमिक तहदेखि कक्षा १२ सम्म नेपाली र अंग्रेजी दुवै माध्यममा पठनपाठन हुँदै आएको विद्यालयमा यस बर्षदेखि स्थानीय मौलिक पाठ्यक्रम समेत पठनपाठन हुन थालेको छ । कक्षा ४ देखि ८ सम्म डा. राजु अधिकारीद्वारा लिखित संस्कारी बनौं भन्ने पुस्तकलाई स्थानीय पाठ्यक्रम बनाइ योग, ध्यान र ब्यायामसहित संस्कार शिक्षा पठनपाठन गराउन थालिएको प्रधानाध्यापक बस्नेतले बताए ।
सुकुनामा कक्षा ९ र १० का लागि सिभिल इन्जिनियरिङ सहित ऐच्छिक बिषयको रूपमा कम्प्युटर साइन्स, ऐच्छिक गणित, अर्थशास्त्र, र लेखा बिषयमा पठनपाठन हुने गरेको छ । यसै बर्षदेखि ऐच्छिक बिज्ञान बिषय समेत पठनपाठन गराउन थालिएको छ । त्यस्तै कक्षा ११ र १२ मा बिज्ञान, सिभिल इन्जिनियरिङ, म्यानेजमेण्ट, कम्प्युटर साइन्स, शिक्षा, होटल म्यानेजमेण्ट र कानून बिषयमा पठनपाठन हुँदै आएको छ ।
आफ्नो नानीलाई कक्षा १ मा भर्ना गर्न आएकी सुन्दरहरैंचा १० की दिपा लिम्बूले पठनपाठन राम्रो भएकोले आफुले छोरा पढाउन सुकुना नै रोजेको बताइन् ।
हाल संचालन भइरहेको कक्षा १२ को परीक्षामा सुकुनाबाट ७ सय ७८ जना विद्यार्थीहरु सहभागी छन् ।
शिक्षा बिकास समन्वय इकाइ मोरङका प्रमुख जीवन गड्तौलाले सुकुना मावि पुर्वकै नमूना स्कुल भएको बताए ।
विद्यालयले टाढाका विद्यार्थीहरुको आवतजावतका लागि आफ्नै ४ वटा स्कुल बससहित १० वटा बसको ब्यवस्था गरेको छ ।
सबै कक्षाकोठामा सीसी क्यामेराले निगरानी गर्ने ब्यबस्था गरिएको स्कुलमा हाल ३७ वटा कक्षाकोठामा स्मार्ट बोर्ड र अन्य सबै कोठामा प्रोजेक्टर मार्फत पठनपाठन हुँदै आएको छ ।
स्कुलले हाल ३ वटा शाखा मार्फत समेत पठनपाठन गराउँदै आएको छ । सुन्दरहरैंचा १० मा रहेको बरपिपल टोल शाखामा मण्टेश्वरी तथा वालकक्षा संचालन गदै आएको छ । त्यस्तै सुन्दरहरैंचा १२ मा अबस्थित सुकुना क्याम्पस नजिकै नगरपालिकाको सहयोगमा नवनिर्मित भवन रहेको शाखामा यसै शैक्षिक शत्रदेखि कक्षा १ सम्म पठनपाठन हुन थालेको छ । त्यसैगरी सुन्दरहरैंचा १० मा अबस्थित बाघझोडा शाखामा २० जना बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरुलाइ हेरचाह गर्ने ब्यबस्था गरिएको बिद्यालयका सहायक प्रधानाध्यापक राजेन्द्र गिरीले बताए ।
विद्यालयले यसै बर्ष बिद्यार्थीहरुलाइ संगीत सिकाउनका लागि एक सेट नौमति बाजा र ४ सेट अन्य बाजाहरु गरी ९ लाख बराबरका बाद्यवादन सामग्री खरिद गरेको छ ।
कुल ९५ वटा सेक्सनमा पढनपाठन हुँदै आएको सुकुना माध्यमिक विद्यालयमा बिहानी र दिवा शत्रमा गरी कुल ४ हजार पाँच सय विद्यार्थीहरु अध्ययनरत छन् । सुकुनामा कक्षा ११ मा ७ सयभन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् । त्यस्तै कुल १ सय ६५ जना शिक्षक र कर्मचारी कार्यरत रहेकोमा ४८ जना नेपाल सरकारको दरबन्दीमा कार्यरत छन् भने १ सय १७ जना निजी श्रोतबाट ब्यबस्थापन हुनेगरी कार्यरत छन् ।









