पथरी नगर अस्पतालमा साउनयता एक लाखभन्दा बढीले गराए उपचार
- ११ असार २०८२, बुधबार
पथरी नगर अस्पतालमा साउनयता १ लाख २ हजार १ सय ८७ जनाले उपचार गराएका छन् ।
त्यस अबधिमा ११ करोड ७९ हजार २ सय ४९ रुपैयाँ आम्दानी गरेको थियो । जसमध्ये १० करोड ४ लाख ४१ हजार ५ सय ६५ रुपैयाँ खर्च र १ करोड ७४ लाख ८३ हजार ३ सय ३६ रुपैयाँ वचत भएको नगरका स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले जानकारी दिनुभयो । १५ बेड क्षमताको अस्पतालमा कूल ६४ जना कर्मचारी कार्यरत छन् ।
पथरी शनिश्चरे नगरपालिकाद्वारा सञ्चालित पथरी नगर अस्पतालको छैटौं स्थापना दिवसको अवसरमा निःशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न भएको छ ।
आज पथरी शनिश्चरे वडा नं. २ को छ्यालिस बिघेमा अवस्थित नगर अस्पतालको छैटौ स्थापना दिवसको अवसरमा असहाय मानव सेवा समाज दमकको प्राविधिक सहयोगमा निःशुल्क दन्त शिविर सञ्चालन गरिएको हो । नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा भएको सो कार्यक्रममा स्वागत मन्तव्य वडा नं. २ का वडाध्यक्ष एवं अस्पताल व्यवस्थापन समितिका सदस्य नैना राईले स्वागत मन्तव्य राख्नुभएको थियो ।
पञ्चायत माविको वि.व्य.स. अध्यक्ष युवराज बास्कोटा, नेपाली कांग्रेसका नगर उपाध्यक्ष के.बी. गुरुङ, पूर्व नगर प्रमुख दिलिपकुमार राई (किशोर), संविधानसभा सदस्य चण्डीप्रसाद राईले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
वार्षिकोत्सवको अवसरमा अस्पतालका उत्कृष्ट कर्मचारी डा. ओम शान्ति रजक र कर्मचारी एल्डिना गुरुङलाई सम्मान गरिएको थियो ।









