हिउँद सुरु भएसँगै भरिभराउ बन्दै बेतना
- ५ फाल्गुन २०८१, सोमबार
मोरङमा सबैभन्दा ब्यस्त र भीड हुने पर्यटकीय केन्द्र बेतना सिमसार हिउँद सुरु भएसँगै भरिभराउ बन्दै गएको छ । बेतना सिमसार पछिल्लो समय बिदाको दिन र शनिवार आन्तरिक पर्यटकले भरिने गरेको छ् । सिनसार क्षेत्रमा बनभोज खान पुग्ने मात्र होइन, संघ संस्थाको साधारणसभा, गोष्ठी र सेमीनार गर्न पनि मानिसहरु पुग्ने गरेका छन् ।
बेतना सिमसारले उपलब्ध गराएको तथ्यांक अनुसार २०८१ साउनयता माघ मसन्तसम्ममा ९४ हजार जना पर्यटकले टिकट काटेर बेतना भ्रमण गरेका छन् । यो तथ्याङ्क निशुल्क प्रवेशको सुविधा पाएका १० वर्ष मुनिका बालबालिका, ७० बर्ष माथिका वृद्धवृद्धा, स्थानीय उपभोक्ता, जनप्रतिनिधि, सञ्चारकर्मी तथा समिति बाहेकको हो । त्यस्तै सोही अवधिमा ११ हजार एक सय ६० वटा मोटरसाइकलले पार्किङ शुल्क तिरेका छन् । सात महिनाको अबधिमा १ हजार २ सय ९२ वटा साना चारपाङ्ग्रे सवारी, २ सय ७१ वटा बस, ३ सय ३० वटा साइकलबाट पार्किङ शुल्क उठेको छ । ४ सय ९४ वटा बनभोज टोली आएको र ४ हजार १ सय ४५ पटक डुंगा (बोटिङ) चलेको बेतना सिमसारका अध्यक्ष शम्भु भट्टराईले जानकारी दिए ।
बेतना सामूदायिक वन उपभोक्ता समितिको संरक्षणमा रहेको सीमसार क्षेत्रको अर्को आकर्षण विश्व कै दुर्लभ प्रजातिका कछुवा हुन । सिमसार भित्र सय केजी भन्दा बढी तौलका कछुवाहरू जो कोहीले सजिलै अवलोकन गर्न सक्ने वनका अध्यक्ष शम्भु भट्टराई बताउँछन । बेतनालाई दुर्लभ प्रजातिका कछुवाको प्रजनन केन्द्रका रुपमा पनि चिनिन्छ। बिभिन्न जातका माछा,जीबजन्तु,बनस्पति बेतना सीमसार क्षेत्रका थप आकर्षण हुन ।
केहि बर्ढयता सिमसार परिसरमा चिडियाखानको झल्को दिने गरी उद्दार गरी ल्याइएको जङ्गली जीव जन्तुको संरक्षण गरिएको छ । अध्यक्ष भट्टराईका अनुसार सीमसार क्षेत्रमा नील गाई , विभिन्न प्रजातिका बाँदर, लोखर्के, बन बिरालो,सर्प,अंजिगर, चाइनिज मुसा ,खरायो, लाटोकोसेरो, हुँचिल,दुम्सी,चित्तल लगायतका जीवजन्तु संरक्षण गरिएको छ ।
हिउँदमा साईबेरिया देखि दुर्लभ प्रजातिका चराहरु आउने गरेकोले पनि यो क्षेत्र आकर्षक गन्तब्य बनेको जानकारहरू बताउँछन् ।
सिमसारमा रहेको पानीले करिब एक हजार बिगाहा जमीनलाई बाह्रै महिना सिंचित गरेको छ । बि.स २०५७ सालमा बेतौना जलउपभोक्ता समुह गठन गरी पानी उपयोग गर्दै आएका किसानहरु सम्मिलित समुहले समेत सो सिमसार क्षेत्रको संरक्षण गर्दै आएका छन् । सीमसार क्षेत्रलाई पर्यटकीय केन्द्र बनाउने उदेश्यले वातावरण सौन्दर्यविदहरूको सहयोगमा कमिलो,विभिन्न प्रजातिका हाडखोरहरुको प्रतिमा समेत बनाएर राखिएको छ । जसले उक्त क्षेत्रको फरक पहिचान दिएको छ । सिमसार क्षेत्रमा दुई प्रजातिको दुर्लभ बेत बनस्पति पाइन्छ ।
सीमसार क्षेत्रको संरक्षणको लागि बरिपरि तार घेराबारा समेत गरिएको छ । केही बर्षदेखि बेतनाको सिमसार पोखरीमा संचालन गरिएको ढुंगा हाल आएर आम्दानीको मुख्य स्रोत भएको छ ।
पूर्वपश्चिम महेन्द्र राजमार्गसँगै जोडिएर रहेको सिमसार क्षेत्रमा बिदाको दिन खुट्टा राख्ने ठाउँ सम्म पाइदैन । १ सय ७४ दशमलव ९१ हेक्टरमा फैलिएको सामूदायिक वनमा ११ हेक्टर क्षेत्रफलमा मसार क्षेत्र छ भने ७ हेक्टरमा पोखरी क्षेत्र रहेको छ ।









