देवीझोडा सिरानमा शिव पञ्चायन मन्दिर बनाईंदै

  • १० असार २०८२, मंगलवार

केराबारी गाउँपालिकाको वडा नम्बर ९ स्थित देवीझोडा सिरानटोलमा स्थानीय बासिन्दाले आफ्‌नै पहलमा गौरी शंकर शिव पञ्चायन मन्दिर निर्माण गर्न थालेका छन् ।
देवीझोडा सिरानमा ठूलो धारा नजिकै सातपत्रे देवीथान सिमसार तथा जंगल प्रवेश गर्ने स्थान र बर पिपल नजिकै मन्दिर निर्माण हुन लागेको हो । मन्दिर निर्माण समिति गठन गरी घरलौरी पैसा उठाएर स्थानीयले मन्दिर निर्माण शुरु गरेका छन् । सिंहदेवीको थान एवम् चारकोशे झाडीबाट निस्कने पानीको मुहान समेत रहेको स्थान नजिकै मन्दिर निर्माण गर्दा दैवीय हिसाबले पनि राम्रो हुने बिश्वासका साथ खासगरी बृद्धबृद्धाहरुलाइ पनि मठ मन्दिर जान सहज हुने भएकोले मन्दिर निर्माण शुरु गरिएको गौरी शंकर शिव पञ्चायन मन्दिर निर्माण समितिका अध्यक्ष रमेश कटुवालले बताए । मन्दिर निर्माणका लागि स्थानीय सिंहदेवी सामुदायिक वनले सहयोग गर्ने आश्वाशन दिएको छ । मन्दिर निर्माणका लागि बजेट अभाब हुने भएकोले स्थानीय बासिन्दाले दाताहरुसँग सहयोगका लागि अपिल गरेका छन् ।
देवीझोडा सिरानमा देवीथान सातपत्रे सिमसार पनि रहेको छ । त्यहाँ गर्मी याममा टाढा टाढाबाट मानिसहरु नुहाउन र पौडी खेल्न आउँछने । सिमसार नजिकै एउटा रुखको फेदमा रहेको देवीथानप्रति पनि मानिसहरुको अगाध आस्था छ । सोही एरियाको जंगल क्षेत्रमा पर्यटकीय स्थल सातपत्रे पनि छ ।