जसपा बेलबारी नगर समितिका सबैले छाडे  पार्टी 

  • २० कार्तिक २०८२, बुधबार

समाजवादी पार्टी (जसपा) बेलबारी नगर समितिका पदाढिकारी तथा सदस्यहरुले सामूहिक रूपमा पार्टी परित्यागको घोषणा गरेका छन् ।

नगर समितिका अध्यक्ष अमिर मगरसहित सम्पूर्ण पदाधिकारी र सदस्यहरूले पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै मंगलबार सार्वजनिक गरिएको विज्ञप्ति मार्फत पार्टी त्यागेको घोषणा गरेका छन्।

पार्टी परित्याग गर्नेहरूमा अध्यक्ष अमिर मगर, उपाध्यक्षहरू लिला राई र सन्तोष तामाङ, सचिव शिवकुमार राई, सहसचिव शशी राई, कोषाध्यक्ष बासुदेव राई लगायत सदस्यहरू जगत धिमाल, दिलकुमार तामाङ, बिरबल राई, आशिष घोण्डे गुरुङ, मिलन राई, सोना राई, रतन राई, हरिनारायण कलवार र रमेश गुरुङ रहेका छन्।

विज्ञप्तिमा भनिएको छ, “सङ्घीयता, सुशासन, समृद्धि र समाजवाद, धर्मनिरपेक्षता, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, समावेशी समानुपातिक राज्यव्यवस्था र सबैखाले विभेद तथा उत्पीडनको अन्त्य गर्ने जस्ता विचार र सिद्धान्त बोकेर हामीले तन, मन, धन र ज्ञानले सकेको योगदान दिएका थियौं।”

तर पछिल्ला दिनहरूमा शीर्ष नेताहरूको व्यक्तिगत स्वार्थ, अहंकार र गुटबन्दीका कारण पटक–पटक पार्टी विभाजन हुँदै आएको र त्यसले इमानदार कार्यकर्ता तथा समर्थकमाझ निराशा र वितृष्णा बढाएको विज्ञप्तिमा उल्लेख छ।

नेतृत्वको भाषण मात्र जनमुखी भए पनि व्यवहारमा कुनै ठोस सुधार वा जनसेवामुखी काम नदेखिएको र पार्टी केही थान मन्त्रीहरूको स्वार्थमा केन्द्रित भएको आरोप पनि लगाइएको छ।

विज्ञप्तिमा भनिएको छ, “यस अवस्थाले पार्टीप्रति आम जनता मात्र होइन, हामी आफैंमाझ पनि आकर्षण र विश्वास घटेको हुँदा आजकै मितिदेखि लागू हुने गरी सामूहिक रूपमा जसपा परित्याग गर्दछौं।”

उनीहरूले जसपाले दिएको जिम्मेवारी र विश्वासका लागि पार्टी नेतृत्वप्रति धन्यवाद व्यक्त गर्दै भविष्यमा देश र जनताको हितका लागि सकारात्मक भूमिकामा रहने प्रतिवद्धता व्यक्त  गरेका छन्।