कस्तो छ सुन्दरहरैंचा नगरपालिकाको १ अर्ब १९ करोड ५० लाखको बजेट ?

  • १२ असार २०७७, शुक्रबार

फमोरङको सुन्दरहरैंचा नगरपालिकाले आब २०७७।०७८ का लागि १ अर्ब १९ करोड ५० लाख १६ हजार ८० रुपैयांँको बजेट सार्वजनिक गरेको छ ।

बजेटमा सञ्चित कोषबाट रु ९६ करोड २७ लाख ९७ हजार २ सय ८० रुपैयाँ र अन्तर सरकारी अख्तियारीबाट रु २३ करोड २२ लाख ५८ हजार ८ सय रुपैयांँ प्राप्त हुने अनुमान गरिएको छ । नगर उपप्रमुख धनमाया तामाङले बुधबार बसेको छैटौँ नगरसभा समक्ष प्रस्तुत गरेको निति तथा कार्यक्रम र बजेटमा सो कुरा उल्लेख छ ।

नगरको बजेटमा प्रत्येक वडामा १ करोड ५० लाखका दरले जम्मा १७ करोड १६ लाख बिनियोजन गरिएको छ । बजेटमा सामाजिक विकास तथा शिक्षा तर्फ ३ करोड २३ लाख विनियोजन गरिएको छ । जस अन्तर्गत आधारभूत तथा माध्यमिक शिक्षा, स्वास्थ्य तथा माहामारी रोकथाम, खानेपानी तथा सरसफाई, भाषा संस्कृति प्रबद्र्धन, युवा तथा खेलकुद, संघ संस्था साझेदारी कार्यक्रम, महिला, बालबालिका तथा जेष्ठ नागरिक, आदिवासी जनजाति, थारु मधेसी मुस्लिम, पिछडा वर्ग, खस आर्य तथा अन्य अल्पसंख्यक, अपागं, दलित विपन्न तथा सिमान्तकृत, ब्यक्तिगत घटना दर्ता आदि बिषय समेटिएका छन्  ।

त्यस्तै आर्थिक विकासतर्फ कुल १ करोड ८९ लाख विनियोजन गरिएकोमा कृषि प्रसार तथा प्रबद्र्धन तर्फ रु १ करोड, पशु विकास प्रवद्र्धन तथा विस्तारमा ४० लाख, सहकारी तथा वित्तीय क्षेत्रतर्फ १ ० लाख, उद्योग तथा वाणिज्य , नीजिक्षेत्र सवलिकरण सहकार्यका लागि १० लाख, पर्यटन प्रवद्र्धन तर्फ २३ लाख, बजार अनुगमन नियमन सुदृढीकरण १ लाख, भूमी व्यवस्था सुदृढीकरणका लागि  ५ लाख विनियोजन गरिएको छ ।

यस्तै वातावरण तथा विपद् व्यवस्थापनमा २ करोड ४५ लाख, संस्थागत विकास सेवा प्रवाह तथा सुशासनमा १९ करोड ९४ लाख ४० हजार २ सय ८०, पूर्वाधार विकास समितिमा ११ करोड ३५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।