पथरीका पूर्व गाविस अध्यक्षलाई पनि लग्यो कोरोनाले

  • ९ मंसिर २०७७, मंगलवार

मोरङको तत्कालिन पथरी गाविसका पूर्व अध्यक्ष  तिलक वान्तवा राईको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।

दुई साता अघिदेखि उपचाररत राईको मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा मंंगलबार मृत्यु भएको हो ।

कात्तिक २१ गते पीसीआर परीक्षण गराउँदा राइलाइ कोरोना पुष्ठी भएको थियो । शुुुरुमा  उनलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । स्वास्थ्यमा केही सुधार भएपछि अस्पतालबाट घर फर्केर आराम गरिरहेको बेला फेेेेरि श्वासप्रश्वासमा समस्या देखिएपछि विराट शिक्षण अस्पतालको भेन्टिलेटरमा राखिएको थियो ।
पाँच दिनदेखि उपचाररत राइको मंगलबार बिहान मृत्यु भएको नेपाली फुटबलका राष्ट्रिय खेलाडी समेत रहेका छोरा दीपक राईले बताए ।

२०४९ सालको स्थानीय निर्वाचनमा पथरी गाविस अध्यक्षमा निर्वाचित भएका राई हालको पथरीशनिश्चरे नगरपालिकाको पहिलो सहकारी संस्था मनकामना सहकारीका संस्थापक अध्यक्ष पनि हुन् । पञ्चायत माविको व्यवस्थापन समितिका पूर्व अध्यक्षसमेत रहेका राइ दर्जनौं संघ संस्थामा आबद्ध थिए ।