खोटाङ र काठमाडौंमा केएमसीको स्वास्थ्य शिविर, ५ हजार बढी विरामीको उपचार

  • १३ बैशाख २०७८, सोमबार

काठमाडौ मेडिकल कलेजले काठमाडौं र खोटाङका तीन स्थानमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ३ हजार ६ सय ८३ जना विरामी लाभान्वित भएका छन् ।

खोटाङको हलेसी तुवाचुङ्ग नगरपालिका ७, रावावेसी गाउँपालिका–१ हरनटार कुभिन्डे र काठमाडौं–३१ भीमसेन गोलामा स्थानीय संघसस्थासँग सहकार्य गरी एक÷एक दिन निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

खोटाङको हलेसी तुवाचुङ्गको शिविरमा १ हजार ३ सय ५६, रावावेसीमा १ हजार ४ सय ५५ र काठमाडौंको भीमसेन गोलामा सञ्चालित शिविरमा ८ सय ७२ जना विरामीको निःशुल्क उपचार गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

शिविरहरुमा केएमसीका बिशेषज्ञ डाक्टरहरुले विरामीको स्वास्थ्य परीक्षण गर्नुका साथै इसीजी, ल्याब र भिडियो एक्सरेसहित सामान्य शल्यक्रिया पनि गरेका छन् ।

तीन वटै शिविरमा ४८७ जनाको इसीजी, ५३२ को ल्याब टेष्ट र ५१३ को भिडियो एक्सरे गरिएको छ ।

त्यस्तै दाँतमा समस्या भएका ६७ जनाको दाँत खोलिएको छ भने २० जनाको सामान्य शल्यक्रिया गरिएको केएमसीले जनाएको छ ।

ग्रामिण क्षेत्रका विपन्न विरामीलाई लक्षित गरी केएमसीले पछिल्लो समय बिभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविरलाई निरन्तरता दिइरहेको छ ।

गोकर्णेश्वरमा कोरोना सचेतनासहित निःशुल्क शिविर

काठमाडौं, १३ बैशाख । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ मा कोरोना सचेतनासहित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । स्थानीय नेवारी संस्था किसिगाल ग्वाहलि पुचः सँगको सहकार्यमा काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले शिविर सञ्चालन गरेको हो ।

स्थानीय उत्तरबाहिनी स्कूलमा सञ्चालन गरिएको शिविरमा कोरोनाका लक्षण, बच्ने उपाय र संक्रमण भए अपनाउँनुपर्ने सावधानीका बारेमा जानकारी गराइएको छ । सोही अवसरमा विरामीहरुलाई निःशुल्क स्वास्थ्य परीक्षणसमेत गरिएको हो ।

शिविरमा १ हजार १ सय २३ जनाको स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अनुसार परीक्षण गराइएका मध्ये २०५ जनाको ल्याबटेष्ट, १९२ जनाको इसीजी र १८५ जनाको भिडियो एक्सरे गरिएको छ । यता, दाँतमा समस्या भएका ५५ जना विरामीको दाँत खोलिएको केएमसीले जनाएको छ ।