सुनापातीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर, एक हजार एक सय विरामी लाभान्वित

  • ११ कार्तिक २०७८, बिहीबार

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले रामेछापको सुनापातीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

सुनापाती–४ भ्वाँसस्थित सुब्बा सिंह मेमोरियल फाउण्डेशनसँग सहकार्य गरेर केएमसीले रुपाकोटस्थित कृष्णपुरी माध्यमिक विद्यालयमा बिहीबार एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

शिविरमा १ हजार १ सय ६५ विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । दाहालका अनुसार शिविरमा २ सय ५६ विरामीको रक्त परीक्षण, १ सय ९५ विरामीको भिडियो एक्सरे र १ सय ५५ विरामीको इसीजी गरिएको छ । त्यस्तै, शिविरमा उपचार सम्भव नभएका १ सय ४३ जना विरामीलाई अप्रेशनका लागि रेफर गरिएको छ ।

शिविरमा जेनेरल मेडिसिन, प्रसुती तथा स्त्री रोग, बाल रोग, हाडजोर्नी तथा नसा रोग, छाला तथा यौन रोग, नाक कान घाँटी, आँखा रोग, दन्त रोग लगायतको बिशेषज्ञ डाक्टरहरुले निःशुल्क परीक्षण गरेका थिए ।

यसअघि केएमसीले भक्तपुरको दुवाकोटमा पनि दुई दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । शिविरमा १ हजार ६ सय ६२ विरामीको निःशुल्क उपचार गरिएको थियो ।