मरुवारासीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर, ११ सय विरामी लाभान्वित

  • १५ कार्तिक २०७८, सोमबार

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ललितपुरको गोदावारी नगरपालिका–१३ मरुवारासीका १ हजार १ सय ६३ विरामी लाभान्वित भएका छन् ।

गोदावारी नरपालिका १३ नं. वडा कार्यालयसँग सहकार्य गरेर केएमसीले आइतवार मरुवारासीस्थित नवज्योति माध्यमिक विद्यालयमा एक दिने शिविर सञ्चालन गरेको हो ।

शिविरमा २०२ जनाको भिडियो एक्सरे, १९८ जनाको रक्त परीक्षण र १५३ जनाको इसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । शिविरमा ५५ जनाको दाँत खोलिएको छ । त्यस्तै, शिविरमा उपचार सम्भव नभएका ६६ विरामीलाई अस्पताल रेफर गरिएको छ ।

यसअघि केएमसीले ललितपुरको गोदावारीमा पनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । शिविरमा १ हजार ५ सय ८७ बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो । विपन्न विरामीलाई लक्षित गरी केएमसीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।