सुकुम्बासी बस्तीमा पनि केएमसीले गर्यो निःशुल्क स्वास्थ्य शिविर

  • ३ मंसिर २०७८, शुक्रबार

 सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले काठमाडौं महानगरपालिका–३१ जागृति टोलस्थित सुकुम्बासी बस्तीमा बिहिबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सुकुम्बासी परिवारलाई लक्षित गरेर केएमसीले स्थानीय एसुरेन चर्चको प्राङ्गणमा एक दिने शिविर सञ्चालन गरेको हो ।

शिविरमा सो बस्तीका ७९४ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । शिविरमा १९७ जना विरामीको रक्त परीक्षण, १७५ जनाको भिडियो एक्सरे र १६४ जनाको इसीजी गरिएको छ ।

डा.सुनिल शर्माले केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेपछि केएमसीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई निरन्तरता दिइरहेको छ । ग्रामिण क्षेत्रका विपन्न विरामीलाई लक्षित गरेर निःशुल्क शिविर सञ्चालन गर्ने गरिएको केएमसीले जनाएको छ ।

त्यसैगरी काठमाडौं महानगरपालिका वडा नं.२७ ज्याथामा बुधबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । नेपाल व्यायाम मन्दिर, अन्नपूर्ण मिसा पुचः र ज्याथा युवा तथा सामुदायिक विकास क्लवको सह–आयोजनामा काठमाडौं महानगरपालिका २७ नं. वडा कार्यालयले एक दिने शिविर आयोजना गरेको हो ।

स्थानीय अल्वर्ट आईन्स्टाईन स्कूलमा आयोजित शिविरमा काठमाडौं मेडिकल कलेजका विशेषज्ञ डाक्टरहरुले विरामीहरुको स्वास्थ्य परीक्षण गरेका छन् । शिविरमा ९ सय ६३ जना विरामीको स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । शिविरमा १९८ जनाको रक्त परीक्षण, १९४ जनाको भिडियो एक्सरे र १७४ जनाको इसीजी गरिएको छ । त्यस्तै, दाँतमा समस्या भएका ५५ जना विरामी दाँत खोलिएको छ ।

शिविरमा हाडजार्नी तथा नसा, दात, आँखा, प्रसुती तथा स्त्री, छाला तथा यौन, बाल, नाक, कान, घाँटी लगायत समस्याका विरामीहरु उपचारका लागि आएका थिए । शिविरबाट ज्याथासहित आसपास क्षेत्रका विपन्न विरामीहरु बढी लाभान्वित भएको आयोजकले जनाएको छ ।

केएमसीले पछिल्लो समय बिभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई निरन्तरता दिइरहेको छ ।