दोलखा र काभ्रेमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर, दुई हजार बिरामीले गराए जाँच

  • ७ मंसिर २०७८, मंगलवार

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले सोमबार दोलखा र काभ्रेमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

स्थानीय संघ–संस्थासँग सहकार्य गरेर दोलखाको तामाकोशी गाउँपालिका र काभ्रेको पाँचखाल नगरपालिकामा शिविर सञ्चालन गरिएको हो ।

दुवै शिविरमा गरी सोमबार १ हजार ९ सय २४ विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

च्यामा–काठमाडौं सेवा समाजसँग सहकार्य गरेर दोलखाको तामाकोशी गाउँपालिका–६ च्यामास्थित महेन्द्र उच्च माध्यमिक विद्यालयमा दुई दिने शिविर आयोजना गरिएको थियो ।

शिविरको पहिलो दिन १ हजार १ सय ९ जना विरामीको स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा १ सय ९८ जनाको इसीजी, २ सय ७ जनाको ल्याब टेष्ट र १ सय ९९ जनाको भिडियो एक्सरे गरिएको छ । दाँतमा समस्या भएर आएका ४५ जना विरामीको दाँत उखेलिएको छ । त्यस्तै, शिविरमा उपचार सम्भव नभएर अप्रेशन गर्नुपर्ने देखिएका ६५ विरामीलाई अप्रेशनका लागि अस्पताल रेफर गरिएको छ ।

यता, पाँचखाल नगरपालिका वडा नं.७ सँग सहकार्य गरेर स्थानीय रामपाटी स्वास्थ्य चौकी र सहकारी विकासको भवनमा एक दिने शिविर सञ्चालन गरिएको छ ।

शिविरमा ८ सय १५ जना विरामीको स्वास्थ्य परीक्षण गरिएको छ । त्यस्तै, १ सय ६२ विरामीको इसीजी, १ सय ८१ विरामीको ल्याब परीक्षण र १ सय ५० जना विरामीको भिडियो एक्सरे गरिएको केएमसीका जेनेरल मेनेजर दाहालले जानकारी दिए ।

उनका अनुसार शिविरमा २५ जनाको दाँत खोलिएको छ भने २० जना विरामीलाई अप्रेशनका लागि अस्पताल रेफर गरिएको छ । केएमसीले बिगत केही महिनायता बिभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।