बबरमहल र कटुन्जेमा केएमसीको स्वास्थ्य शिविर, दुई हजारभन्दा बढी लाभान्वित

  • १० पुष २०७८, शनिबार

काठमाडौं मेडिकल कलेजले काठमाडौंको बबरमहल र सुर्यबिनायकमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

काठमाडौं महानगरपालिका ११ नं. वडा कार्यालय र थापाथली जनकल्याण परिवारसँग सहकार्य गरेर केएमसीले शिविर सञ्चालन गरेको हो ।

शिविरमा ९५५ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अनुसार १८९ जनाको ल्याब टेष्ट, १७३ जनाको भिडियो एक्सरे र ११३ जनाको इसीजी गरिएको छ । त्यस्तै, दाँतमा समस्या भएर शिविरमा आएका ३६ जनाको दाँत उखेलिएको छ ।

यता, शिविरमा उपचार सम्भव नभएका ५३ जना विरामीलाई अप्रेशनका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ । केएमसीले पछिल्लो समय विभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

भक्तपुरमा पनि केएमसीकै स्वास्थ्य शिविर

भक्तपुरको सूर्यबिनायक नगरपालिका–५ कटुन्जेमा निःशुल्क स्वास्थ्य शिविर गरिएको छ ।

काठमाडौं मेडिकल कलेज र कटुञ्जेस्थित समाज सुधार बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा एक दिने शिविर सञ्चालन गरिएको हो ।

शिविरमा २११ जनाको रक्त परीक्षण, १८९ जनाको भिडियो एक्सरे र १५३ जनाको इसीजीसहित १ हजार १ सय ३७ विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । दाँतमा समस्या भएका १९ जनाको दाँत उखेलिएको छ । शिविरमा उपचार सम्भव नभएका ५३ जना विरामीलाई अप्रेशनका लागि अस्पताल रेफर गरिएको जेनेरल मेनेजर दाहालले बताए ।