सरकारी अस्पताल भन्दा पनि सस्तोमा उपचार सेवा दिन खोज्दै केएमसी

  • १६ पुष २०७८, शुक्रबार

सरकारी क्षेत्रबाट सञ्चालित काठमाडौंको वीर अस्पतालमा बिरामीले एक दिन आइसीयूमा बस्दा बेड चार्ज दुई हजार तिर्नुपर्छ । अर्को सरकारी अस्पताल सिभिलमा पनि आईसीयू चार्ज दुई हजार नै छ । तर, निजी क्षेत्रबाट सञ्चालित काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले १ हजार ९ सय रुपैयाँमै बिरामीलाई आइसीयूमा राखेर उपचार गर्न थालेको छ ।

त्यसैगरी भेन्टिलेटर, हाइकेयर, अक्सिजन लगायत सात प्रकारमा उपचार सेवामा केएमसीले दर रेट घटाएको छ ।

निजी क्षेत्रबाट सञ्चालित केएमसीले सरकारी अस्पतालको भन्दा पनि सस्तो दर रेटमा उपचार थालेको केएमसीका कार्यकारी अध्यक्ष डा.सुनिल शर्माले बताए । सहुलियत दरमा गुणस्तरीय उपचार सेवा दिन सरकारी भन्दा पनि सस्तो दर रेटमा उपचार सेवा प्रदान गर्न थालेको र अब बिरामीहरुले सस्तो दर मै गुणस्तरीय उपचार पाउने शर्माले बताए ।

यसअघि प्रतिदिन आइसीयू चार्ज ५ हजार लिँदै आएको केएमसीले एकैपटक ३ हजार १ सय रुपैयाँ रेट घटाएर १ हजार ९ सयमै आइसीयूमा उपचार थालेको हो ।

 

केएमसीमा पहिले ४ हजार ५ सय पर्दै आएको भेन्टिलेटर सेवा अब बिरामीले दुई हजारमै पाउन थालेका छन् । हाई केयरमा पनि पाँच सय रेट घटाएर १ हजार ५ सय कायम गरिएको छ । पहिले अक्सिजन प्रयोग गर्दा प्रति घण्टा दुई सय पर्ने गरेको भएपनि अहिले त्यसलाई घटाएर २० रुपैयाँमा झारिएको केएमसीले जनाएको छ ।

केएमसीले सबै उपचार सेवा सहुलियत दरमै प्रदान गर्ने गरेको अस्पतालका जेनेरल मेनेजर नारायण दाहाल बताउँछन् ।

केएमसीमा १०० बेडको जेनेरल आइसीयू, ४० बेडको एनआइसीयू, ३५ बेडको न्यूरो आइसीयू र १० बेडको पीआइसीयू गरी सघन उपचारका लागि १८५ बेड छन् । सघन उपचार कक्षका हिसावले जुन नेपालकै सबैभन्दा बढी हो ।