बेलकोटगढीमा केएमसीले गर्यो निःशुल्क स्वास्थ्य शिविर, हजारभन्दा बढीको जाँच तथा उपचार

  • ११ फाल्गुन २०७८, बुधबार

नुवाकोटमा बुधबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

काठमाडौं मेडिकल कलेज र हाम्रो मदानपुर युवा क्लव बेलकोटगढी नगरपालिका–१२ को सहकार्यमा एक दिने निःशुल्क शिविर सञ्चालन गरिएको हो ।

भृकुटी माध्यमिक विद्यालय बेलकोटगढीमा भएको शिविरमा १ हजार १ सय ३ जना बिरामीको निःशुल्क उपचार गरिएको छ । शिविरमा २ सय २१ जनाको रक्त परीक्षण, १ सय ९८ जनाको भिडियो एक्सरे, १ सय ७७ जनाको ईसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

त्यस्तै ३१ जनाको दाँत उखेलिएको छ भने शिविरमा उपचार सम्भव नभएका ४२ जना बिरामीलाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको छ ।

केएमसीले सोमबार रसुवामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेर ९ सय ६३ जना बिरामीको उपचार गरेको थियो ।