नोबेल र केएमसीले तीन ठाउँमा गरे स्वास्थ्य शिविर, तीन हजारभन्दा बढी बिरामी लाभान्वित

  • २ चैत्र २०७८, बुधबार

सप्तरीको कञ्चनपुर नगरपालिका–१२ मा सोमबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

स्थानीय रुपनगर चौकस्थित एमडी हेल्थ केयर हस्पिटल प्रा.लि. सँग सहकार्य गरेर विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले एकदिने शिविर सञ्चालन गरेको हो ।

एमडी हेल्थ केयर हस्पिटलमा सञ्चालन भएको शिविरमा १ हजार ४ सय ३३ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । उपचारका लागि शिविरमा आएका २ सय १६ जनाको रक्त परीक्षण, १ सय ९७ जनाको भिडियो एक्सरे र १ सय ६२ जनाको मुटुको जाँच (इसीजी) गरिएको नोबेल शिक्षण अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । त्यस्तै दाँतमा समस्या भएका ४८ जनाको दाँत खोलिएको छ ।

आरुघाटमा केएमसी र पिपुल्स डेन्टल कलेजको निःशुल्क स्वास्थ्य शिविर
गोरखामा सोमबार निःशुल्क शिविर सञ्चालन गरिएको छ ।

आरुघाट गाउँपालिका वडा नंम्बर ९ सँग सहकार्य गरेर काठमाडौंको सिनमंगलस्थित काठमाडौं मेडिकल कलेज र नयाँ बजारस्थित पिपुल्स डेन्टल कलेज तथा जनरल हस्पिटलले दुई दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।

आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालन भएको शिविरमा पहिलो दिन ९ सय ५३ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा १ सय ८९ जनाको रक्त परीक्षण, १ सय ७७ जनाको भिडियो एक्सरे र १ सय २१ जनाको ईसीजी गरिएको जेनेरल मेनेजर दाहालले जानकारी दिए ।
त्यस्तै दाँतको समस्या भएर शिविरमा आएका २६ जनाको दाँत खोलिएको छ भने शिविरमा उपचार सम्भव नभएका ३२ जनालाई थप उपचारका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।

नंखेलमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर
भक्तपुरको सूर्यविनायक नगरपालिका–९ स्थित नंखेलमा आइतबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी भक्तपुरसँग सहकार्य गरेर काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

नंखेल स्वास्थ्य चौकीमा सञ्चालित शिविरमा ८ सय ६३ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा १ सय ७५ जनाको रक्त परीक्षण, १ सय ८९ जनाको भिडियो एक्सरे र १ सय २७ जनाको इसीजी गरिएको अस्पतालले जनाएको छ ।

शिविरमा २७ जनाको दाँत उखेलिएको छ । त्यस्तै शिविरमा उपचार सम्भव नभएका ३२ जनालाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।
नोबेलका संचालक डा.सुनिल शर्माले केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेपछि गत बर्षदेखि निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई तीव्रता दिएको केएमसीले यसबीचमा लाखौं बिरामीको निःशुल्क उपचार गरिसकेको छ ।