नोबेलद्वारा विराटचौकमा १ सय १६ जना बुढापाकाको मुटु जाँच तथा उपचार
- ८ श्रावण २०७९, आईतवार
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले बिहीवार मोरङको सुन्दरहरैंचा नगरपालिका–९ स्थित विराटचौकमा मुटु तथा फोक्सो रोग शिविर सञ्चालन गरेको छ ।
स्थानीय जेष्ठ नागरिक एकता समाजसँगको सहकार्यमा नोबेलले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर जेष्ठ नागरिकको मुटु तथा फोक्सो रोगको उपचार गरेको हो ।
शिविरमा ६० बर्ष नाघेका बृद्ध–बृद्धाको मुटु तथा फोक्सोसँग सम्बन्धित रोगको परीक्षण र उपचार गरिएको छ ।
नोबेल अस्पतालका मुटुरोग विशेषज्ञ डा.राजेश नेपाल नेतृत्वको डाक्टरहरुको टोलीले १६६ जना जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरेको हो । त्यस्तै १ सय १७ जनाको इको जाँच पनि गरिएको छ । जटिल समस्या भएका कारण शिविरमा उपचार सम्भव नभएका ४४ जना जेष्ठ नागरिकलाई अस्पताल रेफर गरिएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।
रेफर गरिएका बिरामीलाई नोबेलको बसद्वारा नै अस्पताल लगेर निःशुल्क उपचार गरेपछि घर पुर्याउँने व्यवस्था मिलाइएको छ । नोबेल अस्पतालले ग्रामीण क्षेत्रका विपन्न बिरामीलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । जसका कारण लाखौं बिरामी लाभान्वित भएका छन् ।
यो स्थान मोरङको क्षेत्र नंम्बर ३ मा पर्छ । जहाँ नोबेल अस्पतालका सञ्चालनसमेत रहेका डा. सुनिल शर्मा गत प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उमेदवार बनेका थिए । उनी नेकपा एमालेका उमेदवार भानुभक्त ढकालसँग पराजित भए । पराजित भएर पनि उनी निरन्तर जनताको सेवामा लागि रहेका छन् ।
यसअघि नोबेलले मोरङको वयरवन गाउँपालिका–६ स्थित रमाइलोमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर १७० जना जेष्ठ नागरिकको मुटु तथा फोक्सो रोगको उपचार गरेको थियो । अब पथरीशनिश्चरे र बेलबारी नगरपालिकामा पनि यस्तो शिविर सञ्चालन गरिने नोबेलले जनाएको छ । यसबाहेक क्षेत्र नंम्बर ३ मा नोबेलका स्वास्थ्यकर्मीहरुको दई वटा टोली परिचालन भएर नियमित रुपमा निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् ।