रातमाटेका जनता भन्छन् -‘एमसीसीले हाम्रो जग्गा जवर्जस्ती लग्यो’

  • १२ आश्विन २०७९, बुधबार

अमेरिकी सरकारको मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) अनुदानबाट बन्ने विद्युत प्रसारण लाइनको रातमाटे सवस्टेशनका लागि स्थानीयको जग्गा एमसीए नेपालले ‘जवर्जजस्ती’ हडपेको नुवाकोटका प्रभावितहरुले आरोप लगाएका छन् । 
रातमाटेमा मिलिनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल)ले सवस्टेशनका लागि भन्दै ३९७ रोपनी जमीन अधिग्रहण गरेको छ । जग्गा अधिग्रहणबाट नुवाकोटको बेलकोटगढी नगरपालिका वडानम्बर ७ रातमाटेका ४२ घर विस्थापित बन्न पुगेका छन् ।

‘यसरी विस्थापित हुनेहरुमा सबैभन्दा धेरै तामाङ र नेवार छन् भने राइ, खस आर्य तथा ब्राह्रमण, मगर, दलित तथा भुजेल परिवार पनि प्रभावित बनेका छन् ।’बेलकोटगढी नगरपालिका वडानम्बर ७ रातमाटेका पूर्व वडा अध्यक्ष हेमनिधि नेपालले भने –‘जग्गा अधिग्रहण गर्दा उनीहरुलाई झुटो आश्वासन दिएर अधिग्रहण गरिएको हो । अमेरिकी सहयोगमा बन्ने परियोजना भएकाले राम्रो मूल्य प्राप्त हुने भनिए पनि उनीहरुले चलन चल्तीको मूल्य पनि पाएका छैनन् ।’

‘सुरुमा हामीलाई लोभ लालच देखाइयो, राम्रो मूल्य पाउने आश्वासन पाए पछि जो कोहीले पनि सपना बुन्ने नै भयो ।, तर मूल्य निर्धारण गर्दा हामीलाई धाक धम्की दिइयो ।’ स्थानीय रामप्रसाद अधिकारीले भने –‘यो एक प्रकारले जबर्जजस्ती लगेको हो । यहाँ विस्थापितहरु कोही पनि खुशी छैनन् ।’

विस्थापित मध्येका भानुभक्त लामा पनि एमसीए नेपालले दिएको जग्गाको मुआव्जाबाट खुशी छैनन् । ‘दिन्छौ भने देउ, हैन भने गोली ठोकेर लिइन्छ भने । रातमाटेका सिधा जनतालाई पहिला फकाए, पछि धम्की दिएर हाम्रो जमिन लगे ।’  लामाले सुनाए अनुसार पहिला रुख बिरुवा, घर टहराको पनि राम्रो मुल्य दिने भनेका थिए, पछि केही पनि दिइएन ।

रातमाटे सवस्टेशन निर्माणका लागि एमसीए नेपालले जग्गा अधिग्रहणको कार्य सकेको छ । जग्गाको मुआव्जा समेत एक परिवार बाहेक सबैले बुझिसकेका छन् । तथापि जग्गा अधिग्रहणबाट विस्थापित बनेकाहरुको पुनस्र्थापनामा भने त्यहाँ अन्योलको अवस्था छ ।’
‘वैकल्पीक रोजगारीका लागि केही मान्छेलाई बाख्रापालन, सिलाइकटाइ तथा ड्राइभिङ तालिम दिने भनिएको थियो । तर एकदिने तालिम दिएर झारा टार्ने काम भइको छ, यसले केही पनि हुँदैन,’ स्थानीय वडा अध्यक्ष भुवनेश्वर नेपालले भने –‘विस्थापितहरुको जिविकाका लागि टालटुले कार्यक्रम होइन, भरपर्दो र दीगो हुनु पर्दछ ।’
मुआव्जाको पुन:मूल्यांकन हुनुपर्ने 
बेलकोटगढी नगरपालिकाका प्रमुख जगत बहादुर गुरुङले  रातमाटेका जनतालाई न्याय दिने भए मुआव्जा र क्षतीपुर्तीको पुनर्मूल्यांकन गर्नु पर्ने बताए  । ‘अहिले दिइएको मुआव्जा न्यायोचित छैन । प्रचलित बजारभाउ अनुसार अहिले दिइएको मुआव्जाले उनीहरुको पुनस्र्थापना हुन सक्दैन । यसकारण जग्गाको पुनमुल्याँकन गरेर मुआव्जा दिइनु पर्छ ।’ नगरप्रमूख गुरुङले भने –‘नगरपालिकाले यस सम्बन्धि आफनो धारणा सार्वजनिक गरिसकेको छ ।’

त्यहाँका प्रभावितहरुलाई जग्गाबाट उठाउन पनि अहिले गाह्रो रहेको बताउँदै एमसीए नेपालले स्थानीय तहसंग समन्वय गरेर अघि बढन पनि नगर प्रमूख गुरुङले आग्रह गरे । नगरपालिकाका उपप्रमूख शिवप्रसाद दाहालले पनि  नगरपालिकाले अघि सारेको बुँदामा एमसीए नेपाल आउनु पर्नेमा जोड दिए । उनले एमसीए नेपालले रातमाटेमा बनाउने भनिएको सवस्टेशनका कारण उत्पन्न हुने वातावरणीय र स्वास्थ्य समस्याको निवारण गर्न नगरपालिकाले तोकेको स्वास्थ्य संस्थालाई सहयोग गर्नूपर्ने शर्त रहेको बताए । दाहालले नगरपालिकाले एमसीए नेपालसंग बेलकोटगढी नगरपालिकाका सबै वडामा बिद्युतीकरण गरिनुपर्ने र  नगरस्तरीय सडकलाई कालोपत्रे गर्नु पर्ने शर्त अगाडि सारेको जानकारी दिए ।

पूर्व वडा अध्यक्ष हेमनिधि नेपालले विस्थापित परिवारलाई मात्र नभएरु जोखिममा परेका प्रभावित परिवारहरु पनि रहेको बताउँदै तिनीहरुलाई सम्बोधन गर्ने कुनै कार्यक्रम आफूले नदेखेको र अन्तराष्टिय मापदण्डका आधारमा प्रभावितका लागि पनि क्षतिपुर्ति तथा मुआव्जा आउनुपर्ने माग गरे ।

प्रभावित मध्येका हिरा बहादुर सारु मगरले सरकारले दिएको मुआव्जाको रकम त्यसै सकिएको बताउँदै रातमाटेमा प्रतिआना तीन लाख २५ हजार बुझेर बाहिर ८ लाख प्रतिआनामा जग्गा खरीद गर्नू परेको बाध्यता सुनाए । अर्का विस्थापित याम बहादुर भूजेलले आफुसंग सम्पत्तिका नाममा केवल एउटा घडेरी रहेको र भावी जीवन आफूले अँध्यारो देखेको बताए ।

रातमाटेका विस्थापितहरु सरकारले दिएको मुआव्जा तथा क्षतिपुर्ति बुझ्नुलाई आफनो बाध्यता भएको बताउँछन् । यस मध्येकी एक भगवती सारु मगरले पनि रातमाटेबाट अन्यत्र बसाइ सराई गरी गईसकेको बताउँदै बालबच्चाको शिक्षा, तथा स्वास्थ्यमा सहयोगको अपेक्षा राखेको बताए ।

टावर पीडितको अर्को पीडा 
रातमाटेको सवस्टेशनका विस्थापितहरु पछि बेलकोटगढी नगर भित्र विद्युत प्रसारण लाइन र टावर निर्माण पछि बिद्युत लाइनबाट अरु थप विस्तापित हुन सक्ने स्थानीयबासिन्दामा भय छ ।

बेलकोटगढी नगरपालिकामा मात्र ६१ वटा टावर राख्ने एमसीए नेपालको योजना छ । बेलकोटगढी नगरपालिका वडानम्बर ५, ६,७, ८,९, १० र १२ समेत ७ वटा वडा प्रभावितहुने छ । यस बाहेक नुवाकोटको शिवपुरी गाउँपालिका, पन्चकन्या, लिखु र तार्केश्वर गाउँपालिका समेत ३० स्थानीय तहका जनता प्रभावित हुने गरि आयोजनाको डिजायन गरिएको छ ।  यी प्रभावित क्षेत्र मुलत आदिवासी जनजातिको बसोबास स्थल हो । बेलकोटगढी नगरपालिका वडा नम्बर ७का स्थानीय बासिन्दा हरि बहादुर तामाङको भनाइमा प्रस्तुत आयोजना आदिवासी र त्यसमा पनि तामाङ समुदायलाई प्रभाव पार्ने गरि आएको छ । यस अघि सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका प्रभावितहरु पनि अधिकाँश तामाङ आदिवासी थिए ।
बेलकोटगढी नगरपालिकाका स्थानीय बासिन्दाहरु विद्युत प्रसारण लाइनले प्रभाव पार्ने जमिनको सतप्रतिशत क्षतिपुर्ती लिनु पर्ने पक्षमा छन् । स्थानीय भैरव नेपालले पनि टावर निर्माण र लाइन विस्तार गर्दा यस्तै प्रकारको समस्या आउने चेतावनी दिए । आफनो बिगतको अनुभवका आधारमा एमसीए नेपालले यस अघि धोका दिएकाले अवको चरणमा चनाखो हुने बताए । – इन्डिजिनिय सभ्वाइसबाट