सांसदका लागि चौथो पटक आमनेसामने हुँदै उत्तरी मोरङका दुई ‘मास्टर’ हरु
- २५ आश्विन २०७९, मंगलवार
‘२०७० सालमा मैले चुनाव जिते, २०७४ सालमा उहाँले जित्नुभयो, योपटक मेरो पालो,’ नेपाली कांग्रेसका डिगबहादुर लिम्बुले यसो भन्दै गर्दा नेकपा एमालेका उम्मेदवार घनश्याम खतिवडा मुस्कुराए ।
लिम्बु र खतिवडाले प्रतिनिधिसभा सदस्यका लागि मोरङ- १ मा उम्मेदवारी दिएका छन् । दुबै मिल्ने साथी हुन् । चिसाङ खोला वारीपारी घर भएका उनीहरुको विगतको पेसा पनि एउटै हो । तर फरक फरक पार्टीमा रहेका कारण ३० वर्षयता एक–अर्कासँग चुनावी प्रतिस्पर्धा गर्दै आएका छन् ।
‘व्यक्तिगत रुपमा हाम्रो सम्बन्ध राम्रो छ’, लिम्बूले भने, ‘मैले चुनाव जितेका बेला २०७० मा लेटाङको नगरसभा स्थलमा घनश्यामले बाइकमा बोकेर मलाइ पुर्याए, उहाँले चुनाव जितेका बेला २०७४ को नगरसभामा मैले मोटरसाइकलमा बोकेर लगे ।’घनश्याम २०३४ सालदेखि वुद्ध माध्यमिक विद्यालय, केराबारीमा शिक्षक थिए । मदन भण्डारीको संगतपछि स्थायी शिक्षकको जाागिर छाडेर पूर्णकालीन राजनीतिमा लागे । २०४२ सालमा जनपक्षीय उम्मेदवार भएर प्रधानपञ्च उठेका उनी चुनाव हारेपछि जेल परे । ६ महिनापछि जेलबाट छुटेका उनी भूमिगत भए ।
२०४५ मा धनकुटाको चौबिसे गाउँपालिकामा रहेको सिंहदेवी माध्यमिक विद्यालयमा शिक्षकको जागिर पाएका थिए, तर पार्टी राजनीतिमा संलग्न भएको थाहा पाएपछि जागिरमा अयोग्य हुने गरी निकालिए । २०४९ सालको गाविसको निर्वाचनमा उनी तत्कालिन लेटाङ गाविसको अध्यक्षको उम्मेदवार बने ।
लिम्बू २०३९ सालदेखि शिक्षण पेसामा लागेका थिए । लेटाङ नगरपालिका– ४ गुवाबारीका बासिन्दा उनी शान्ति भगवती माध्यमिक विद्यालयमा कार्यरत थिए । २०४२ सालबाट पार्टीमा जोडिएका डिगबहादुर शिक्षकको स्थायी जागिर छाडेर २०४९ मा राजनीतिमा आए र कांग्रेसबाट टिकट पनि पाए ।
चुनावी प्रतिस्पर्धामा खतिवडाले बाजी मारे । चुनाव हारेपछि लिम्बू थप दुई वर्ष शिक्षण पेसामा रहे । गाविस अध्यक्ष बनेका खतिवडा भने २०५२ सालमा गठन भएको गाविस महासंघको केन्द्रीय सदस्य बने । जिविस सभापति हुने योजनाका साथ उनले २०५४ मा गाविस सदस्यको चुनाव जितेका थिए । तर पार्टीले खड्गबहादुर बस्नेतलाई जिविस समिति सभापति बनायो ।
२०६४ को पहिलो संविधानसभा निर्वाचनमा कांग्रेसले डिगबहादुरलाई मोरङ–९ (हाल १) मा उम्मेदवार बनायो । एमालेबाट भने भुवनसिंह राईले टिकट पाए । दुबैलाई हराएर माओवादीका नगेन्द्र धिमाल संविधानसभा सदस्य चुनिए ।
२०७० सालमा कांग्रेसले डिगबहादुरलाई टिकट दिया भने एमालेले घनश्यामलाई हघ सारेपछि ०५१ का प्रतिस्पर्धी आमनेसामना भए । यो बेला माओवादीले वर्षमान पुनलाई उम्मेदवार बनाएको थियो । डिगबहादुर लिम्बू १५ हजार २०२ मतसहित विजयी हुँदा घनश्याम १२ हजार ९८९ मतका साथ दोस्रो स्थानमा रहे ।
२०७२ मा संविधान जारी भएपछि मोरङका ९ वटा क्षेत्र ६ वटामा सीमित भयो । खतिवडा र लिम्बुको क्षेत्र नम्बर १ बन्यो । २०७४ सालको निर्वाचनमा दुवै जना उम्मेदवार बने । वाम गठबन्धनबाट उम्मेदवार बनेका घनश्याम ३७ हजार ५२४ मतसहित विजयी हुँदा डिगबहादुरले ३१ हजार ४३६ मत मात्र पाए ।
यो पटक कांग्रेसबाट डिगबहादुर र एमालेबाट घनश्याम नै फेरि चुनावी मैदानमा छन् । अघिल्लो पटक घनश्यामलाई सघाएको माओवादी केन्द्र र एमालेबाट छुट्टिएको एकीकृत समाजवादीले यो पटक डिगबहादुरलाई समर्थन गरेको छ । एमालेले भने जनता समाजवादी पार्टी (जसपा) सँग तालमेल गरेको छ ।
शिक्षक हुँदै राजनीतिमा आएका दुई नेताले भएको तीन पटक प्रतिस्पर्धा गरिसकेका छन्, जसमा दुई पटक खतिवडासँग पराजित भएका लिम्बू यो पटक आफूले चुनाव जित्ने दाबी गर्छन् । सडक पूर्वाधार, नदी नियन्त्रणसँगै जनताको जनजिविकालाई सहज बनाउन आफू उम्मेदवार भएको उनको दाबी छ ।
एमाले उम्मेदवार खतिवडा भने जनताको आवाजलाई संसदसम्म पुर्याउन उम्मेदवारी दिएको बताउँछन् । – हरि अधिकारीबाट