बेलबारीको मालपोत र नापी कार्यालयमा पार्किङ शुल्क असुली, सेवाग्राहीहरुको गुनासो

  • २३ माघ २०७९, सोमबार

मोरङ बेलबारीमा अबस्थित मालपोत र नापी कार्यालयमा आउने सेवाग्राहीको सवारीबाट पार्किङ शुल्क असुली गर्न थालिएपछि सो कार्यको सर्वत्र आलोचना हुन थालेको छ ।

पार्किङ शुल्क असुलीका लागि ठेक्का लगाउने निर्णय गरी बेलबारी नगरपालिकाले निजी कम्पनीलाई ठेक्का दिएको छ । सोही बमोजिम ठेकेदारले पार्किङ शुल्क असुली हुन थालेपछि  सो कार्यको सर्वत्र आलोचना हुन थालेको हो ।

मालपोत कार्यालय परिसरमा प्रसस्त ठाउँ भएपनि त्यहाँ पार्किङ गर्न दिनुको सट्टा नगरपालिकाले निजी कम्पनीलाइ पार्किङ क्षेत्र तोकेर पैसा असुली गर्न दिएपछि हाल सो क्षेत्रमा पार्किङ असुलीको त्रास छाएको छ ।

बेलबारी नगरपालिकाका अनुसार अघिल्लो नगरसभाको निर्णय बमोजिम नगरपालिकाले हाट्कर संकलन, सडक स्थानीय पुर्वाधार सेवा शुल्क र कवाडी शुल्क असुलीसँगै मालपोत र नापी कार्यालय क्षेत्रमा पार्किङ शुल्क असुलीको ठेक्काका लागि केही समयअघि ठेक्का आव्हान गरेको थियो । सो क्रममा लाबा कन्स्ट्रक्सन सुनसरीले सो ठेक्का पाएको छ ।

बेलबारी नगरपालिकाका सूचना अधिकृत महेन्द्र खड्काका अनुसार लाबा कन्स्ट्रक्सनले भ्याट बाहेक ११ लाख ५१ हजारमा बेलबारी १ मा लाग्ने सोमबारे र बेलबारी २ मा लाग्ने बुधबारे हाटकर संकलन, सिसौबारी फडानी भलुवा लोहोन्द्रा खोला बेलबारी सडक स्थानीय पुर्वाधार सेवा शुल्क, कवाडी शुल्क असुली र मालपोत तथा नापी कार्यालय क्षेत्रमा पार्किङ शुल्क असुली गरी ४ प्रकारको एउटा ठेक्का पाएको छ । सो ठेक्काका लागि नगरपालिकाले भ्याट बाहेक ११ लाख २५ हजार न्युनतम अंक निर्धारण गरेको थियो ।

सो ठेक्काको अरुमा बिवाद नभए पनि सरकारी कार्यालयमा आउने सेवाग्राहीले प्रयोग गर्ने सवारी साधनको पार्किङ शुल्क असुली गर्ने निर्णय सर्वत्र आलोचित बनेको छ ।
त्यसो त मालपोत र नापी कार्यालयमा पार्किङ गराउन ठेकेदार कम्पनीले खटाएका ब्यक्तिहरुले पहिलोपटक गएका सेवाग्राहीले तोकिएको क्षेत्र बाहेक अन्यत्र पार्किङ गरे बिना जानकारी हेलमेट लगिदिने, बाइक आफैं अन्यत्र सार्ने गरेको  सर्वसाधारणले गुनासो गरेका छन् ।

सोमबार (माघ २३ गते) मालपोत आइपुगेका केराबारीका रमेश चेम्जोङले आफुले पार्किङ गर्ने चलन थाहा नपाएर सडक छेउमा मोटरसाइकल राखेपछि पार्किङ वालाहरुले हेल्मेट लगिदिएको र काम सकेर निस्किने बेलामा हेल्मेट खोज्दै जाँदा पार्किङस्थलाट आफ्नो हेल्मेट अर्कैले लगिदिएपछि हेल्मेटको पर्खाइमा बसिरहेको बताए । चेम्जोङले भने “हेलमेट साटिएछ, लैजाने मान्छेलाई बोलाइदिएका छौँ भन्छन्, पर्खदा पर्खँदै हैरान भइसकियो ।”

मालपोत र नापी कार्यालयमा पार्किङ शुल्क असुलीबारे प्रश्न गर्दा बेलबारी ३ का वडाध्यक्ष योगेन्द्र सुवेदीले नगरसभाले पार्किङ शुल्क असुलीको ठेक्का लगाउने निर्णय गरे बमोजिम नगरपालिकाले पार्किङ शुल्क असुलीको ठेक्का लगाएको बताए । पार्किङस्थलमा भएकोे समस्याबारे  ठेकेदारसँग कुरा गरी त्यस्ता कार्य नियन्त्रण गरिने उनले बताए ।

उता ठेकेदारका प्रतिनिधिले भने नगरपालिकाले मोटरसाइकल पार्किङ बापत घण्टाको १० रुपैयाँ असुली गर्न अनुमती दिएपनि आफुहरुले दैनिक २० रुपैयाँ मात्र लिने गरेको बताए । नगरपालिकाले पार्किङ क्षेत्रको ब्यबस्था नगरिदिएकोले आफुहरुले नै पार्किङ क्षेत्र ब्यबस्थापन गर्नु परेको ठेकेदार कम्पनीको तर्क छ ।

नगरपालिकाका अनुसार नगरपालिकाले यस बर्ष जम्मा ६ वटा ठेक्का लगाइसकेको छ । जसमा चिसाङ खोला भित्रको बाटोसहित कीर्तिमान भाउन्ने आमतोला सडकको ठेक्का पनि लाबा कन्स्ट्रक्सन सुनसरीले नै पाएको छ । सो सडकका लागि नगरपालिकाले भ्याट बाहेक ३० लाख न्युनतम अंक तोकेकोमा सो कम्पनीले ३५ लाख ३४ हजार ४ सय ४४ रुपैयाँमा ठेक्का पाएको छ ।

त्यस्तै बेलबारी ३ को सुवेदी ब्रदर्स निर्माण सेवाले १५ लाख रुपैयाँमा बेलबारी ३ मा लाग्ने मवेसी पशु हाट बजारको ठेक्का पाएको छ । बेतना कन्स्ट्रक्सनले ७ लाख ५ रुपैयाँमा बेलबारी ४,५,६,७,८,९,१० र ११ मा लाग्ने साविक हाट बजारको ठेक्का पाएको छ ।

त्यसैगरी बेल्ली रियल स्टेट प्रालिले १ करोड ९३ लाख ८० हजार ५ सय ३१ रुपैयाँमा चिसाङ खोला र २ करोड ८७ लाख १ हजार ८० रुपैयाँमा लोहोन्द्रा खोला ठेक्का पाएको छ । – अम्बिका भण्डारी/राजु बस्नेत