सिद्धार्थ र ब्राईट फ्युचर स्कुलले पाउने भए अन्तर्राष्ट्रिय स्तरका अवार्ड
- २६ असार २०८०, मंगलवार
सुन्दरहरैँचा १० मा रहेको सिद्धार्थ सेकेण्डरी स्कुल र सुन्दरहरैंचा ८ मा रहेको ब्राईट फ्युचर सेकेण्डरी स्कुलले अन्तर्राष्ट्रिय स्तरका छुट्टाछुट्टै अवार्ड पाउने भएका छन्
अस्ट्रेलियामा केन्द्रीय कार्यालय रही विश्वका विभिन्न राष्ट्रहरूमा शैक्षिक कार्यक्रम सञ्चालन , सहजीकरण र समन्वय गर्ने एक्जिटो एजुकेसन द्वारा सिङ्गापुर र मलेसियामा यही जुलाई १३ देखि १८ गतेसम्म आयोजना हुने विशेष कार्यक्रममा ती स्कुललाई निम्तो पठाइएको छ । सिद्धार्थ स्कुलले ‘इनोभेटिभ एण्ड बेस्ट प्रिन्सिपल अवार्ड २०२३’ अवार्ड पाउने भएको छ भने ब्राईट फ्युचर ‘एक्जिटो इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२३‘ बाट सम्मानित हुने भएको छ ।
पठनपाठनका साथै विविध शैक्षिक तथा अतिरिक्त क्रियाकलाप सिकाउने केन्द्रको रूपमा उपयोग गर्दै सिद्धार्थले विद्यार्थीको सर्वाङ्गिण विकास गराउने कार्यक्रम सञ्चालन गरेकाले उक्त अवार्ड प्रदान गर्न लागिएको आयोजक संस्थाको पत्रमा उल्लेख गरिएको छ । अवार्ड ग्रहण गर्न प्रिन्सिपल बस्नेत मंगलबार बिदेश प्रस्थान गर्ने विद्यालयका भाइस प्रिन्सिपल जेवी थुलुङले बताए ।
त्यसैगरी सुन्दरहरैंचा ८ मा रहेको ब्राईट फ्युचर सेकेण्डरी स्कुल ‘एक्जिटो इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२३‘ बाट सम्मानीत हुने भएको छ । जुलाई १७ मलेसियामा हुने अवार्ड समारोहमा सहभागिता जनाउन आयोजकले विद्यालयलाई निमन्त्रणा पत्र पठाएको हो ।
सो निमन्त्रणा पत्रमा ‘ तपाईका शिक्षकहरुले गरेको असाधारण कामबाट पुरस्कार समिति पूर्ण रुपमा प्रभावित भएको थियो । तपाईका विद्यार्थीहरुले उच्च गुणस्तरको शिक्षा प्राप्त गर्ने कुरा सुनिच्चित गर्न उनिहरुले गरेका अथक प्रयासहरु जसले विद्यार्थीहरुलाई सफलताको लागि तयार गर्दछ ‘ त्यसमा भनिएको छ । अवार्ड अन्तर्गत एक प्रदेशबाट एउटा विद्यालय छनोट भएको छ । जसमा कोशी प्रदेशबाट ब्राईट फ्युचर सेकेण्डरी स्कुल छनौट भएको हो ।
कार्यक्रममा सहभागिता जनाउनका लागि विद्यालयका प्रिन्सीपल टिकाराम ढकाल मंगलबार त्यसतर्फ प्रस्थान गर्ने विद्यालयले जनाएको छ ।