बेलबारीमा टिपर, बस र बोलेरो ठोक्किदा ३ जनाको मृत्यु, २ जना घाइते

  • १८ फाल्गुन २०८०, शुक्रबार

पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारीमा शुक्रबार बिहान टिपर, बस र बोलेरो जीप ठोक्किएर भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

बिहान ६ बजेतिर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९६७६ नम्बरको टिपरले पश्चिमतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २७१८ नम्बरको बसलाई बेलबारी नगरपालिका-३ स्थित पुरानो मालपोत जाने बाटो नजिकै राजमार्गमा ठक्कर दिँदा दुर्घटना भएको हो । प्रहरीका अनुसार बसलाई ठक्कर दिएपछि अनियन्त्रित बनेको टिपरले पूर्वबाट पश्चिमतर्फ नै आउँदै गरेको मे १ ज २८५६ नम्बरको बोलेरोलाई ठक्कर दिएको थियो ।
सो दुर्घटनामा परेर बोलेरोमा सवार झापाको कमल गाउँपालिका–२ का ५१ वर्षीय यदुकान्त भट्टराई
सोही ठाउँकी ४४ वर्षीया दिपा खनालको घटनास्थलमै र झापाको बिर्तामोड २ बस्ने ३६ वर्षीय कृष्ण गजुरेलको उपचारका क्रममा विराटनगरको न्यूरो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक रन्जन कुमार दाहालले जानकारी दिए ।

कमल गाउँपालिका–२ की ५० वर्षीया गायत्री भट्टराई र कमल गाउँपालिका–२ का ५५ वर्षीय हरि खनालको घाइते अवस्थामा विराटनगरकै न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेर बोलेरो जीप पूर्णरूपले क्षतिग्रस्त बनेको छ। टिपरको अगाडिको भागमा पनि क्षति पुगेको छ। बसको भने पछाडिको भागमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ। बसमा सवार सबै जना सकुशल रहेको प्रहरीको भनाइ छ।
दुर्घटनालगत्तै प्रहरीले टिपर तथा चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–७ का २३ वर्षीय चन्द्रबहादुर विक र बस तथा चालक सुन्दरहरैँचा–१२ का ४५ वर्षीय छत्रकुमार मास्केलाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ। – nepalpurba.com बाट