बेलबारी नगर अस्पताल नयाँ भवनमा, सांसद शर्माले गरे उद्घाटन

  • १९ श्रावण २०८२, आईतवार

बेलबारी नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन भएको छ ।
मोरङ क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सांसद सुनिल शर्माले शनिबार भवन उद्घाटन गरेका हुन् । १५ बेडको नगर अस्पतालको भवन निर्माणका लागि संघीय सरकारले १८ करोड बजेट बिनियोजन गरेपछि २०७७ मंसिर २५ गते बेलबारी ४ बुधबारेमा रहेकोे करिब १६ कट्ठा जग्गामा भवन शिलान्यास भएको थियो । जसमध्ये १० करोड ५९ लाख १ सय ६६ रुपैयाँमा भवन निर्माणको ठेक्का लागेको थियो । म्याद थप गरी भवन निर्माण सम्पन्न गरी २०८१ मंसिरमा ठेकेदारले नगरपालिकालाई भवन जिम्मा लगाएका थिए । काम सम्पन्न हुँदा भवन निर्माणको लागत ९ करोड ९० लाख ३ हजार ८ सय २२ रुपैयाँ रहेको बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राइले बताए ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ले ३ सय ९३ नगर अस्पताल एकैदिन शिलान्यास गरेका थिए । जसमध्ये मोरङमा सबैभन्दा पहिले बेलबारी नगर अस्पताल उद्घाटन भएको नगरपालिकाले जनाएको छ ।
शनिबार भएको उद्घाटन कार्यक्रममा प्रतिनिधिसभाका पुर्व सांसद हर्कमान तामाङ, प्रदेश सांसदहरु मान बहादुर लिम्बु, गिता तिम्सिना, जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघ संस्थाका प्रतिनिधि र सर्वसाधारणको बाक्लो उपस्थिति थियो ।कार्यक्रममा उपमेयर नितु थापा कोइरालाले स्वागत मन्तव्य ब्यक्त गरेका थिए भने बेलबारी वडा नम्बर ४ का पुर्व वडाध्यक्ष रामकुमार राइ, नेकपा एमाले बेलबारीका अध्यक्ष शंकर गुरुङ, पुर्व सांसद हर्कमान तामाङ, प्रदेश सांसद गीता तिम्सिना लगायतले पनि मन्तव्य दिएका थिए ।
उद्घाटन कार्यक्रममा बोल्दै मोरङ क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सांसद सुनिल शर्माले पुर्वान्चल बिश्व विद्यालयमा मेडिकल कलेज संचालन गर्न स्वीकृतिको अन्तिम तयारी भैरहेको र आउँदो बर्षदेखि एमबीबीएस पढाई शुरु हुने बताए । बेलबारीमै सर्पदंश उपचार केन्द्र समेत संचालन भएको बताउँदै सांसद शर्माले पुर्वान्चल विश्व विद्यालयमा मेडिकल कलेज आयो भने मोरङ क्षेत्र नम्बर ३ का वासिन्दाले उपचार गर्न अन्यत्र जानु नपर्ने बताए । नगर अस्पतालका लागि नोबेल अस्पतालबाट निशुल्क हप्तामा ३ जना विशेषज्ञ डाक्टर पठाइरहेको र त्यसलाई निरन्तरता दिने शर्माले बताए । आफ्नै वडामा नगर अस्पताल आएकोमा खुशी व्यक्त गर्दै शर्माले अब मोरङ क्षेत्र नम्बर ३ का जनताले उपचार नपाएर मर्नुनपर्ने बताए ।
कार्यक्रमका अध्यक्ष बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राइले नगर अस्पतालबाट दिइने औषधिमा प्रश्न उठ्ने गरेकोमा अब उप्रान्त सुधार गर्ने बताए । नगर अस्पतालको सुरक्षामा प्रश्न उठिरहेको भएपनि त्यसमा नगरपालिका गम्भीर रहेको बताउँदै राइले स्थानीय बासिन्दालाई संयमित हुन र कर्मचारीले गल्ती गरे आफुलाइ सम्पर्क गर्न आग्रह गरे । प्रदेश प्रहरी अस्पतालको प्रसंगमा मेयर राइले भने – ‘कुकुरलाई घिउ पचेन ।’
नवनिर्मित भवनमा २४ सै घण्टा आकस्मिक, ओपीडी सेवा, आँखा जाँच, एक्सरे सेवा, ल्याब सेवा, एम्बुलेन्स सेवा, गर्भपतन सेवा लगायत लाइब्रेरी तथा प्रशासन कक्षका समेत छुट्टाछुट्टै कक्षहरु छन् ।