पथरीमा ससुराको हत्या गरी फरार भएको ज्वाइँ पक्राउ

  • ६ आश्विन २०८१, आईतवार

मोरङको पथरीशनिश्चरेमा ससुराको हत्या गरी फरार भएका ज्वाइँलाई प्रहरीले पक्राउ गरेको छ ।
वडा नं.–७ स्थित मायालु चोकका ६० वर्षीय चन्द्रबहादुर तामाङको हत्या गरी फरार भएका उनका ज्वाइँ २७ वर्षीय रविन राईलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धनकुटा र इलाका प्रहरी कार्यालय पथरीको संयुक्त टोलीले मूलघाटबाट आइतबार १० बजे विहान पक्राउ गरेको इप्रका पथरीका डीएसपी मोहनविक्रम दाहालले जानकारी दिए । उनका अनुसार पक्राउ परेका र मृत आफ्नै ज्वाइँ ससुरा हुन ।
ससुरा तामाङको हत्या गरी ज्वाइँ रविन फरार भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताउँदै, डीएसपी दाहालले भने, ‘घरमा दुई जना मात्रै हुनु र घटनापछि एकाएक बेपत्ता हुनुले पनि उनकै संलग्नता रहेको हो कि भनेर अनुसन्धान थालेका थियौं । हत्या गरेर रविन भोगेको र खोज्दै जाँदा मूलघाटमा आज बिहान भेटिएपछि निन्यत्रणमा लिएका हौं । पथरी ल्याएर थप सोधपुछ तथा अन्य घटनाका सम्बन्धमा अनुसन्धान गर्ने र पोस्टमार्टमको रिपोर्टले घटना किन भएको हो भन्ने खुल्ने छ ।’
चन्द्रबहादुर तामाङको हत्या गरिएको अवस्थामा शनिबार बिहान ७ः२० बजेतिर आफ्नै घरको प्यासेजमा रगतमा डुबिरहेको अवस्थामा तामाङको शव फेला परेको थियो ।
मृतकको टाउको र चिउँडोलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले प्रहार गरेका चोटहरु देखिएको बताउँदै, डीएसपी दाहालले भने, ‘शव नजिकै रगत लतपतिएको अवस्थामा धारिलो हतियार खुर्पा फेला परेको थियो । घटनाको प्रकृति हेर्दा खुर्पाले प्रहार गरेर हत्या गरे जस्तो देखिन्थ्यो ।’
पक्राउ परेका रविन ससुराली घरमा बस्दै आएको थिए । घरमा ज्वाइँ ससुरा मात्रै बस्दै आएका थिए । रविनको घर पनि ससुराली घरनजिकै छ ।
चन्द्रबहादुरकी छोरी तथा रविनकी पत्नी वैदेशिक रोजगारमा रहेको प्रहरीले जनाएको छ । चन्द्रबहादुरका २ छोरा, १ छोरी र पत्नी सबै जना विदेशमा रहेको डीएसपी दाहालले बताए । उनका अनुसार दुवै जना (ज्वाइँ ससुरा) शुक्रबार राति घरमै मदिरा सेवन गरेर बसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
उनीहरु सधैं मदिरा सेवन गरेर होहल्ला गर्ने गरेको छिमेकीले बताएका छन । मदिरा सेवनपछि उत्पन्न विवाद हत्यामा परिणत भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।