तेस्रो कुसुमे उधौली कप शुरु भएसँगै केरावारी ९ मा बढ्यो फुटबलको माहोल
- १ पुष २०८१, सोमबार
तेस्रो कुसुमे उधौली कप फुटबल प्रतियोगिता २०८१ शुरु भएसँगै केराबारी ९ मा फुटबलको माहोल बढेको छ ।
चासोक तङनाम, साकेला, चासुवा, फूलस्याँदर (उधौली पर्व) को अबसर पारी कुसुमे साइनिङ क्लवको आयोजनामा शनिबारदेखि चर्चित टीमहरुको सहभागितामा प्रतियोगिता शुरु भएपछि बाली भित्र्याएर फुर्सद भएका गाउँभरीका मानिसहरु खेल हेर्न भेला हुने गरेका छन् ।
केराबारी गाउँपालिकाकी उपाध्यक्ष मनमाया मगरले शनिबार प्रमुख अतिथिको रूपमा पानसमा बत्ती बालेर तथा साँस्कृतिक ढोल झ्याम्टा बजाएर प्रतियोगिता उद्घाटन गरेकी थिइन् ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साह, केराबारी गाउँपालिकाका पुर्व अध्यक्ष रोहितबहादुर कार्की, बेलबारी मेयर सल्लाहकार प्रकाश राई, केराबारी ९ का वडाध्यक्ष गोपाल याख्खा, बेलबारी १ का वडाध्यक्ष मणि मगर, बेलबारी २ का वडाध्यक्ष कृष्ण गुरुङ, देवीझोडा सामुदायिक वनका अध्यक्ष गोबिन्द बस्नेत लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा भएको खेल उद्घाटन समारोहमा राई र लिम्बू समुदायका युवायुवती एवम् मोरङ आदर्श इङलिस स्कुलका विद्यार्थीले साकेला र अन्य नृत्यहरु प्रस्तुत गरेर फुटबललाई सांस्कृतिक माहोल दिएका थिए ।
प्रतियोगितामा मोरङ, सुनसरी र झापाका ८ टीम सहभागी छन् । प्रतियोगितामा एपीएफ पकली , लेटाङ फुटबल क्लव, पटनाली फुटबल क्लव (धरान), चुलाचुली फुटबल क्लव (झापा), गोल्डेन स्टार क्लव (दुहबी) , कुसुमे साइनिङ क्लव, रोयल स्र्पोटिङ क्लव (दमक) र भाउन्ने युथ क्लव सहभागी रहेकोे आयोजकले जनाएका छन् ।
आइतबार उद्घाटन खेल एपीएफ पकली र लेटाङ फुटबल क्लबबिच भएको थियो । सो खेलमा एपीएफलाई १-० ले पराजित गर्दै लेटाङ बिजयी भयो । सोमबार भएको दोस्रो खेलमा गोल्डेन स्टार दुहबीलाइ ३-१ गोल अन्तरले पराजित गर्दै आयोजक कुसुमे साइनिङ क्लब बिजयी भएको छ । पहिलो हापमा गोलरहित बराबरी भएको सोमबारको खेलमा आयोजकको जितका लागि भुवन बस्नेतले २ गोल र मिलन चाम्लिङले १ गोल गरे भने गोल्डेनका अभिषेक गुरुङले १ सान्त्वना गोल गरे । भुवन खेलको म्यान अफ द म्याच बने । आइतबार र सोमबार नै दर्शकहरुको उपस्थिति राम्रै थियो । मंगलबार पटनाली फुटबल क्लव, धरान र चुलाचुली फुटबल क्लव, दमकबिच हुने आयोजकले जनाएका छन् ।
प्रतियोगितामा मिडिया पार्टनरका रूपमा रेडियो बेतना, संयन्त्र मिडिया, कछुवा दैनिक, उज्यालो प्रदेश, फटाफट न्युज, बेतना दैनिक र कोशी नेपाल मिडिया छन् ।
प्रतियोगिताका लागि केराबारी गाउँपालिका मुख्य सहयोगी, देवीझोडा सामुदायिक वन मुख्य प्रायोजक , सीजी ग्रुप प्रायोजक छन् ।
प्रतियोगितामा प्रथम हुने टीमले ७५ हजार नगदसहित ट्राफी, मेडल र प्रमाणपत्र र दोस्रो हुने टीमले ४१ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने आयोजक कुसुमे साइनिङ क्लबका अध्यक्ष भक्तशेर लिम्बूले बताए । प्रतियोगिताबाट ४ लाख ५० हजार आम्दानी र ४ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । कुसुमे साइनिङ क्लबले बिगत तीन बर्षदेखि बर्सेनि उधौली पर्वको अबसरमा प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगिताको फाइनल खेल पौष ६ गते हुनेछ ।