सूचनामैत्री छैन सुन्दरहरैंचा नगरपालिका

  • १० आश्विन २०७५, बुधबार

अम्बिका भण्डारी

शुक्रबार अर्थात असोज ५ गते  नगरपालिकाले आर्थिक बर्ष २०७४/०७५ मा गरेका काम कारबाहीको बारे जानकारी लिन संयन्त्र मिडिया प्रालिको टोली सुन्दरहरैंचा नगरपालिका पुगेको थियो । कार्यालयको गेटभित्र पस्नासाथ भुइँ तलामै ‘गुनासो सुन्ने अधिकारी/ सूचना अधिकारी’ पिताम्बर वस्तीको नाम  लेखिएको बोर्ड झुण्ड्याइएको हुनाले त्यसै आधारमा पहिलो तलामा अबस्थित उनको कोठामा गएर केही सूचना मागियो।

आब २०७४/०७५ को अबद्धिमा भए गरेका काम कारबाहीको सूचना दिन आग्रह गर्दा उनले आफू सूचना अघिकारी भएपनि आफुसंग कुनै सूचना नभएकोले योजना शाखामा गएर त्यसबारे सूचना लिन आग्रह गरे । योजना शाखामा गएर त्यस शाखाका कर्मचारी बाबुराम भट्टराईलाई पत्रिकामा समाचार प्रकाशित गर्नका लागि  प्रयोजन खुलाएर नै सूचना माग्दा उनलेे लिखित निवेदन पेश गर्न भने । समाचार प्रकाशन गर्नका लागि सूचना माग्दा दुनियाँमा निवेदन दिएर माग्ने प्रचलन नभएको र सर्वसाधारणले पनि सूचना लिने हक रहेको स्मरण गराउंदा पनि भट्टराईले निवेदन चाहिने जिकिर गरेपछि संयन्त्रको टोलीले नगरपालिकाले पनि लिखित सूचना दिने भए निवेदन दिने बताएको थियो तर उनले लिखित निवेदन दिएमा मौखिक सूचना दिइने र भनेको आधारमा टिपोट गरेर लानुपर्ने लज्जास्पद तर्क नछाडेपछि फेरि सूचना अधिकारी वस्तीलाइ भेटेर बाबुरामले सूचना दिन इन्कार गरेको जानकारी गराइएको थियो ।

त्यसपछि लेखा अधिकृत समेत रहेका वस्तीले आफैं योजना शाखामा गइ पत्रकारलाई बिना शर्त  सूचना दिन भनेका थिए । भट्टराईले आफुसंग कुनै सूचना नभएको र भए पनि निवेदन बिना नदिने तर्क गरे । त्यसपछि वस्तीले निर्देशनको शैलीमा आर्थिक बर्ष २०७४/०७५ को प्रगति विवरण दिन भने  । भट्टराईले त्यसपछि प्रगति बिवरण नै नबनेको भन्दै च्याठ्ठिएको शैलीमा “केही प्रगति भएको भए पो प्रगति बिवरण बनाउनु ” भन्दै सूचना दिन आनाकानी गरे । अन्त्यमा जे जे छ मिडियालाई दिनु भन्दै वस्ती आफ्नो कार्यकक्षमा फर्किए । त्यसपछि भट्टराईले मौखिक रूपमा एक दुईवटा सूचना दिएपनि आवश्यक सूचना दिएनन् र सम्बन्धित फांटहरुमा गएर जानकारी लिन आग्रह गरे । तर सम्बन्धित वा बिषयगत केही फांटमा पुग्दा पनि सूचना प्रणाली अस्तब्यस्त रहेकोे पाइएको थियो ।

सुन्दरहरैंचा नगरपालिकामा न प्रेस संयोजक नियुक्त गरिएको छ, न त कार्यालयको सूचना प्रणाली नै ब्यबस्थित छ । अव्यवस्थित सुचना प्रणालीबारे सुन्दरहरैंचा नगरपालिकाका मेयर शिवप्रसाद ढकाललाई भेट्न खोज्दा उनी कार्यालयमा थिएनन् । कार्यालयबाट फर्कनुअघि फेरि वस्तीलाइ भेट्दा सम्बन्धित फांटहरुले सम्पन्न भएका कार्यक्रम र योजना आफुलाइ उपलब्ध नगरिएकोले समस्या भएको र दुई दिनपछि सूचना उपलब्ध गराउने बताएका थिए  । त्यस समयमा नगरपालिकामै रहेका नेपाली कांग्रेसका नेता ललित श्रेष्ठलाई सूचना प्रवाहबारे नगरपालिकामा भएको समस्याबारे ध्यानाकर्षण गराउंदा आफुले यसबारे मेयर शिव ढकालसंग कुरा गर्ने बताएका थिए ।

चार दिनपछि अर्थात मंगलबार दोस्रोपल्ट नगरपालिका पुग्दा सूचना अघिकारी वस्ती कार्यालयमै थिए । तर उनले सूचना दिन सकेनन् । दोस्रोपल्ट पनिउ उनले कामको चापका कारण आफुले सूचना लिएर उपलब्ध गराउन नसक्ने र केही दिनपछि आएमा सूचना दिने आश्वासन दिएर रित्तै फर्काए ।

हुन त पहिले बेलबारी नगरपालिका पनि खासै सन्चारमैत्री थिएन । तर स्थानीय क्षेत्रमा कृयाशील सञ्चारकर्मीहरुको दबाबपछि नियमित पत्रकार सम्मेलन गर्ने अभ्यास शुरु गरिसकेको छ । नगरपालिकाले प्रेस संयोजक नियुक्त गरेकोले पनि अहिले सूचना प्राप्त गर्न सहज भएको छ ।