लालभित्तिका बृद्द समाजसेवी लोकनाथ ढकाल भन्छन् – ‘समाजमा बस्न नदिने भए, अब बसाइँ सर्छु’

  • २८ आश्विन २०७५, आईतवार

मोरङको बेलबारी नगरपालिका २ स्थित लालभित्तिमा शनिबार बिहान सहारा वालग्रामले दशैं तिहारको शुभकामना अदानप्रदान तथा भेटघाट कार्यक्रम आयोजना गरेको थियोे ।

पुर्व सांसद हर्कमान तामाङदेखि पत्रकार अरुण बराल, समाजसेवी प्रताप थापा लगायत झन्डै एक दर्जन पत्रकार, सहाराका अध्यक्ष तथा बेलबारी गाबिसका पुर्व अध्यक्ष शिव बराल, बेलबारी १ का वडाध्यक्ष चक्र खुलाल, वडा नम्बर ३ का वडाध्यक्ष तथा नगरपालिकाका प्रबक्ता योगेन्द्र सुवेदी, बेलबारी २ की वडा सदस्य तथा कार्यपालिका सदस्य खिना थापा लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि र अन्य समेत गरि झण्डै सयजनाको उपस्थिति थियो ।

शुभकामना आदानप्रदान भनिए पनि सन्दर्भ र बिषय  थियो सहारा वालग्रामको इतिहासदेखि बर्तमान सम्मको अवस्था र भावी योजना । पुर्व सांसद हर्कमान तामाङ र प्रताप थापाले बोलिसकेपछि लालभित्तिकै बृद्द समाजसेवी लोकनाथ ढकालले आफुलाई  केही कुरा राख्ने मौका दिन आग्रह गरे ।

सोही बमोजिम मञ्चमा आएका ढकाल बोल्दाबोल्दै एकाएक भक्कानिए र भने “ मैले युवा अवस्थादेखि बुढेसकालसम्म लालभित्तिमा बिताएं । धेरै सामाजिक काम पनि गरें अब म लालभित्ती छाडेर अन्यत्र जांने मनस्थितिमा छु । अन्यत्र गएं भने पनि मलाई नबिर्सिदिनु होला । “

यो सुनेर उपस्थित सबैजना अचम्मित भए र मन्चतर्फ केन्द्रित भए । लोकनाथ बा अगाडि भन्दै गए ‘ किन यो लोकनाथले यस्तो कुरा गर्यो, बहुलाएछ कि क्याहो भन्नुहोला तर त्यस्तो होइन । म पुरानो कम्युनिस्ट कार्यकर्ता हुं । मैले रमिते सामुदायिक वन समुहमा १५ बर्षसम्म काम गरें ।  आफ्नो घरको भात खाएर काम गरेको परिणाम अहिले हाम्रै पार्टीका साथीभाइहरुले मलाई रमिते वनको ब्लाक लिष्टमा राखेका छन् रे । अब मैले कि बसाइँ हिड्नुपर्यो कि त कर्ण धिमालले जस्तै ( आत्महत्या) गर्नुपर्यो । मलाई समाजका केही मान्छेले बस्न नदिने भए, अब मैले न्याय खोज्न कहाँ जाने ?”

उनले  भने १५/१६ बर्षमा त एउटा सैनिकको पनि पेन्सन पाक्छ । तर मलाई बुढेसकालमा डाइबिटिजको दवाइ खा भनेर कसैले पाँच हजार दिएको छैन । मलाई समाजका केही मान्छेले बस्न नदिने भए अब कि त मैले घोटाला गरेको प्रमाण दिनुपर्यो, होईन भने  ब्ल्याक लिस्टबाट हटाउने पहल गरिदिनु पर्यो । “ तर आफुलाइ किन र के कारणले ब्ल्याक लिष्टमा राखिएको हो भन्नेबारे बताएनन् ।

ढकालले केही महिना अघि राजमार्ग बिस्तार गर्दा आफैंले भोट हालेका र आफ्नै पार्टीका वडाध्यक्ष लगायतका जनप्रतिनिधिले पुर्व सूचना नदिइ र एकछिन भत्काउने समय समेत नदिइ घरमा डोजर लगाएको पनि गुनासो गरे ।

लोकनाथ बा ले त्यसो भनिनसक्दै रमिते वनका पुर्व अध्यक्ष डिल्ली पुरीले कार्यक्रमस्थलमै ढाडस दिदै भने “तपाईंको नाम ब्ल्याक लिष्टबाट हटाउने एउटा विधि छ , त्यो विधि पुर्याएर तपाईंको नाम हटाइन्छ ।” त्यसपछिका केही बक्ताहरुले पनि त्यही बिषयमा बोल्दै लोकनाथ बालाइ अन्याय हुन नदिने भन्दै बिचलित नहुन र लालभित्तिमै रहन आग्रह गरेका थिए । कार्यक्रमको अन्त्यसम्म पनि वडा पार्टीको भनिएको र धेरै पार्टी सदस्यहरुलाई थाहा नदिइ गरिएको त्यही दिनको शुभकामना कार्यक्रम र लोकनाथ ढकालकै बिषयले चर्चा पाएको थियो ।