केराबारी गाउँपालिकामा पहिलोपटक सहकारी संस्था दर्ता, पहिले दर्ता भयो खदमहिल साकोस
- १३ कार्तिक २०७५, मंगलवार
मोरङको केराबारी गाउँपालिकामा पहिलोपटक सहकारी संस्था दर्ता भएको छ ।
मुलुक संघीय संरचनामा रुपान्तरित भएपछि स्थानीय तहको रूपमा रहेको गाउँपालिकाले पहिलोपटक सहकारी संस्था दर्ता गरेको हो । सहकारी एेन २०७४ तथा केराबारी गाउँपालिकाको सहकारी संचालन सम्बन्धि एेन २०७५ अनुसार स्थापित केराबारी १० स्थित खदमहिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गाउँपालिकामा दर्ता भइ पहिलोपटक प्रमाणपत्र समेत प्राप्त गरेको छ ।
खदमहिल बचत तथा ऋण सहकारी संस्था लिमिटेड तसर्थ समितिका सचिव अम्बिका भण्डारीका अनुसार सो सहकारीले गत असोज ८ गते केराबारी गाउँपालिकामा सहकारी संस्था दर्ताका लागि निवेदन दिएको थियो । तर त्यसबेला गाउँपालिकाको राजपत्र प्रकाशन तथा प्रमाणपत्र बनाउने जस्ता काम भइ नसकेकोले कार्तिक १३ गते नयाँ सहकारी दर्ता भएको र मंगलबार नै दर्ता प्रमाणपत्र समेत लिएको भण्डारीले बताए । उनका अनुसार खदमहिल साकोसको प्रारम्भिक शेयरपुँजी डेढ करोड हुनेछ । नवीन थापा मगर अध्यक्ष रहेको सो सहकारीमा ५० जना संस्थापक शेयर सदस्य छन् ।
यसअघि सहकारी संस्थाहरु डिभिजन सहकारी कार्यालयमा दर्ता हुने गरेका थिए । डिभिजन सहकारी कार्यालय मोरङले केही समयअघि नयाँ सहकारी संस्थाहरु स्थानीय तह नै दर्ता गर्ने गरी त्यहाँ रहेका पुराना सहकारीहरूका सबै फायल सम्बन्धित स्थानीय तहमा नै पठाएकाे थियाे ।
पुराना सहकारी संस्थाहरु डिभिजन सहकारी कार्यालयमा दर्ता भएर सञ्चालन हुँदै आएका भएपनि ती सहकारी संस्थाहरुले अब स्थानीय तहमा समेत दर्ता हुनुपर्ने केराबारी गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका अनुसार वडा नम्बर २ का दुईवटा सहकारी मर्ज भएपछि बनेको महाभारत साकोसले संस्था दर्ताका लागि निवेदन पेस गरेको छ । त्यसबाहेक पहिलेका अन्य सहकारी हालसम्म गाउँपालिकामा दर्ता भएका छैनन् । गाउँपालिकाको अभिलेख अनुसार केराबारी गाउँपालिका क्षेत्रभित्र २३ वटा सहकारी संस्था छन् ।