लगातार १ सय २३ घन्टा भन्दाबढी नाचेर धनकुटाकी १७ वर्षीया बन्दनाले बनाइन् बिश्व रेकर्ड

  • १३ मंसिर २०७५, बिहीबार

धनकुटाकी १७ वर्षीया किशोरी बन्दना नेपालले लगातार १२३ घन्टा भन्दा बढी लगातार  नृत्य गरेर गिनिज बुक अफ वल्र्डमा नाम लेखाउन सफल भएकी छन् ।

शुक्रबार बिहान ७ बजेबाट निरन्तर नाचिरहेकी उनले बुधबार १२ बजेर १६ मिनेटमा पहिलाको रेकर्ड तोडेर गिजिन बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल भएकी हुन् । उनले वल्र्ड रेकर्ड कायम गर्दै गर्दा यो नेपाली शीर उचाली, संसारभर लम्कन्छ भन्ने  गीत घन्किएको थियो । काठमाडौंको बत्तीसपुतलीस्थित बिग पार्टी प्यालेसमा रेकर्ड राखेपछि पनि उनी नाचिरहेकी थिइन्  ।

गिनिज बुक अफ वल्र्डको रेकर्डअनुसार अहिलेसम्म सबैभन्दा लामो समय नृत्यको रेकर्ड भारतले बनाएको थियो । सन् २०१६ मा केरला, भारतकी कलामण्डलम हेमलथाले लगातार १२३ घण्टा १५ मिनेट शास्त्रीय नृत्य गरेर अहिलेसम्मकै सबैभन्दा लामो समय निरन्तर नृत्य गरेको विश्व रेकर्ड गिजिन बुक अफ वल्र्ड रेकर्डमा लेखाएकी हुन् । कलामण्डलमको यो रेकर्ड तोडेर त्यो भन्दा बढी लगातार नृत्य गर्दै विश्व रेकर्ड कायम गर्ने अभियानमा बन्दना थिइन् ।

उनी नाच्दा नृत्यस्थलमा नेपाली लोकलयका ६० भन्दा बढी गीत निरन्तर बजिरहेका थिए । उनले नाचेको दृश्य तीनवटा क्यामेराले निरन्तर कैद गरिरहेका थिए । कार्यक्रमस्थलमा निर्णायक पनि थिए ।

गिनिज बुक अफ वल्र्डको नियमअनुसार हरेक घण्टा नृत्य गर्दा उनले प्रतिघण्टा ५ मिनेटको ब्रेक लिए बाहेक बाँकी समय  नृत्य रोकिनन् । नाच्दानाच्दै चिया, पानीसमेत पिउने गरेकी बन्दनाको खुट्टा सामान्य सुन्निएको छ ।

महालक्ष्मी नगरपालिका–९ धनकुटाकी बन्दना  काठमाडौंको चेल्सी स्कुलमा १२ कक्षा पढ्दै छिन् । बुबा राम नेपालका अनुसार उनी बाल्यकालदेखि नै नृत्य भन्ने बितिक्कै हुरुक्क हुन्थिन् ।

गत वर्ष भारतको केरलामा नृत्य सिक्न जाँदा उनले निरन्तर नाचेर भारतकी कलामण्डलमले वल्र्ड रेकर्ड बनाएको बारे बुझ्ने अवसर पाएकी थिइन् । नेपाल आएपछि नाचेरै विश्व रेकर्ड बनाउने लक्ष्य राखेकी बन्दनाले अभ्यास पूरा गरेपछि विश्व रेकर्डको अभियानमा उत्रिएकी थिइन्  ।