बुढीगंगामा बृहत युवा सम्मेलन, पाँच सयभन्दा बढी युवाहरूको सहभागिता

  • ६ पुष २०७५, शुक्रबार

ईश्वरी घिमिरे, विराटनगर / “समृद्धिका लागि युवा अभियान” भन्ने मुलनाराका साथ मोरङको बुढीगंगामा बृहत् युवा सम्मेलन शुरु भएको छ ।

जनजागृती युवा क्लब बुढीगंगा मोरङले आयोजना गरेको उक्त कार्यक्रममा ५०० भन्दा बढी युवाहरुको सक्रिय सहभागिता रहेको छ।

युवा जागरण र सशक्तीकरणका लागि संचालन गरिएको उक्त कार्यक्रममा सहभागीहरुलाई उदघोषण कला, उद्यमशीलता, लैङ्गिक विभेद र युवा नीति, धारणा र व्यवहार गरी ५ ओटा विषयहरुमा देशकै ख्यातिप्राप्त प्रशिक्षकहरुबाट तालिम प्रदान गर्न शुरु गरिएको छ।

शुक्रबार र शनिवार दुईदिनसम्म चल्ने उक्त सम्मेलनमा भागीरथ पाेख्रेल, रीता पाैडेल लगायतका विभिन्न प्रशिक्षकहरुले युवाहरुलाई विभिन्नखाले जीवनउपयाेगी तालिम दिने छन् ।

मूल अायाेजक समितिका अध्यक्ष मकरबहादुर बुढाथाेकीकाे अध्यक्षतामा सम्पन्न उक्त उद्घाटन सत्रकाे संचालन रीता न्याैपाने र अशाेक अधिकारीले संचालन गरेका थिए ।

शुक्रबार  लागूऔषध दुर्व्यसन र साबधानी, र साइबर अपराधसम्बधि विषयमा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोज केसीले प्रशिक्षण प्रदान गर्नुभएको छ।

प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतबहादुर कार्कीले बुढीगंगा ६ सुक्चरस्थित नारायण माध्यमिक विद्यालयको प्राङ्गणमा शुक्रबार  एक भव्य समारोहकाबिच उक्त सम्मेलनको उदघाटन गरेका छन् ।

सो अवसरमा बोल्दै मन्त्री कार्कीले युवाशक्ति भनेको देशको मेरुदण्ड भएको र युवाहरुकै प्रत्यक्ष संलग्नतामा मुलुकले विगतमा ज्यादै ठुला-ठुला राजनीतिक परिवर्तन र उपलब्धिहरु प्राप्त गर्न सफल भएकोले आफू र आफ्नो सरकारले अवसर प्रदान गर्दा युवाहरुलाई सधैं पहिलो प्राथमिकतामा राख्ने कुरा बताए।

शिक्षित युवाहरु अब नेपालमा अवसर नपाएर विदेशिनुपर्ने बाध्यताको चाडैं अन्त्य हुने बताउँदै उनले भने “त्यसैका लागि सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने व्यवस्थाको सुरुवात गरेको हो।” युवावर्गप्रती लक्षित यस्ता थुप्रै नीति तथा कार्यक्रमहरु ल्याउने सरकारको तयारी रहेको पनि उनले बताए।

समारोहमा बोल्दै योङ कम्युनिष्ट लीग नेपालका केन्द्रीय सदस्य ईश्वरी आचार्य, युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष पर्शुराम बस्नेत, नेपाल कम्युनिष्ट पार्टीका प्रदेश नम्बर १ का सदस्य गणेश उप्रेती लगायतका युवा नेताहरुले राजनीतिक पार्टीको नेतृत्व तहले युवाहरुलाई विगतमा जस्तो सधैं लाठी र बन्दुकमात्रै बोकाएर सत्तामा पुग्ने अनि युवाहरुको मर्मलाई बेवास्ता गरी विदेशिन बाध्य पार्ने प्रवृत्तिको अन्त्य हुनैपर्ने कुरामा जोड दिएका छन्।

प्रदेश नम्बर १ कि प्रदेश सभा सांसद यशोदा अधिकारी र साबित्रा रेग्मीको विशिष्ट आतिथ्यमा तथा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतबहादुर कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा सांसद विजय विश्वास थारु, पूर्वसांसद ऋषिकेश पोख्रेल, बुढीगंगा गाउँपालिकाकी उपाध्यक्ष अमृता गच्छेदार, ने. क. पा. का नेता महेश रेग्मीलगायतका वक्ताहरुले समृद्ध नेपाल निर्माण अब युवाहरुबाट मात्रै सम्भव भएकाले बृद्दावस्थाका नेताहरुले युवाहरूलाई नेतृत्व दिनैपर्ने बेला आएको बताए।

राजनीतिक पार्टी र राज्यले समेत युवाहरूलाई सधैं आफूअनुकुल प्रयोग मात्रै गरिरहेको र स्वार्थ पूरा भएपछि निराश बनाइरहेको अहिलेको परिस्थितिमा आफू र आफ्नो क्लबले उनीहरुलाई सचेत र सबल बनाउने अभियानको शुरुवातस्वरुप यो सम्मेलनको आयोजना गरिएको आयोजक समितिका अध्यक्ष मकरबहादुर बुढाथोकीले बताए ।

परिवर्तन र समृद्धि युवाहरुबाट मात्र सम्भव भएको र उनीहरुलाई गुण्डागर्दी, भ्रष्टाचारी र अन्य विभिन्न कुलतमा फस्ने होइन काँधमा समाज र राष्ट्रको जिम्मेवारी बोकेर अघि बढ्नुपर्छ भन्ने भावनाको विकास गर्न र स्वरोजगारीका अवसरहरु सिर्जना गर्न यो कार्यक्रम सफल हुने आफूले विश्वास लिएको समितिकी सचिव रीता न्यौपानेले बताइन्।

आयोजक समितिका अध्यक्ष मकरबहादुर बुढाथोकीको अध्यक्षतामा सम्पन्न उदघाटन समारोहको सन्चालन सचिव रीता न्यौपाने र सदस्य अशोक अधिकारीले गरेका थिए।

कार्यक्रममा वरिष्ठ हाँस्यकलाकार मनोज गजुरेल, श्रीकृष्ण लुइँटेल , गायक साजन राईलगायतका कलाकारहरुको विशेष प्रस्तुतीसमेत रहेको थियो। विशेषत: ग्रामिण क्षेत्रका युवाहरु सक्रिय रुपमा सहभागी भएको उक्त कार्यक्रम २ दिनसम्म चल्नेछ।