चन्दा उठाएको आरोपमा वडाध्यक्ष विरुद्ध पक्राउ पुर्जी, वडाध्यक्ष चाहिं फरार
- २९ पुष २०७५, आईतवार
ढुंगागिटी निकासी गर्दा अबैध चन्दा उठाएको आरोपमा प्रहरीले कानेपोखरी गाउँपालिका–५ का वडाध्यक्ष चरण गुरुङ विरुद्ध पक्राउ पूर्जी जारी गरेको छ ।
क्रसर उद्योग, ढुंगागिट्टी, बालुवा निकासी गर्ने ट्याक्टर र ट्रिपरबाट अवैध चन्दा असुलीकालागि सस्थानीयलाई अनुमति दिएको आरोप गुरुङलाई लगाइएको छ । कानेपोखरी–५ को चिसाङ नदी कटान क्षेत्र पूर्वाधार पीडित गाउँ उपभोक्ता समितिका नाममा नम्बरी जग्गा संरक्षण तथा विकास निर्माणको सहयोगार्थ भन्दै रसिद बनाएर ट्रयाक्टर र ट्रिपरबाट चन्दा असुल गर्न मान्छे खटाएको आरोप उनलाई लगाइएको छ । केही समयअघि प्रति ट्रिपर चन्दा स्वरुप १०० रुपैयाँसम्म स्थानीय उपभोक्तालाई दिन क्रसर उद्योगी र सर्वसाधरणबिच सहमति पनि भएको थियो ।
चन्दा असुलीको आरोपमा दुई जना पक्राउ परेपछि स्थानीयले विरोध गर्दै खोलाबाट खोलाजन्य पदार्थ निकासीमा अवरोध गरेका थिए । कानेपोखरी–५ र बेलबारी नगरपालिका–८ को बीचमा पर्ने समिर नाका र शान्ति टोल नाकाबाट अवैध चन्दा असुली गरेको भन्दै प्रहरीले कानेपोखरीका रोशन दनुवार र जितन चौधरीलाई पक्राउ गरी चन्दा ऐन अन्तर्गत मुद्दा दायर गरेको थियो ।
उनीहरुले वडाध्यक्षकै अनुमतिमा चन्दा असुल गरेको बताएपछि गुरुङलाई पूर्जी जारी गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । गुरुङले भने चन्दा संकलनमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् ।