मोरङको एक स्कुल, जहाँ ढिलो आउने शिक्षकलाइ विद्यार्थीले गेटबाटै फर्काइदिन्छन्

  • २० माघ २०७५, आईतवार

मोरङको जहदा गाउँपालिका–१ स्थित जनता बाल आधारभूत विद्यालयका विद्यार्थीले गेटमै बसेरै निगरानी गर्न थालेपछि ढिलो आउने शिक्षकहरु सतर्क बन्न थालेका छन् ।

विद्यार्थीले शैक्षिक गुणस्तर सुधार अभियान शुरु गरी शिक्षकलाई अनुशासन सिकाउन थालेपछि शिक्षकहरु सतर्क बन्न थालेका हुन् । विद्यार्थीले शिक्षक र अभिभावकसहितको उपस्थितिमा शिक्षक र विद्यार्थीका लागि नियम बनाएपछि हाल पठनपाठनमा समेत सुधार आएको छ । समयमै  शिक्षक कक्षाकोठामा नपुग्न्ने शिक्षकलाइ समेत  विद्यार्थीले प्रश्न सोध्ने गरेका छन् ।

तीन महिना अगाडि नियम बनाइएपछि ढिलो आउने शिक्षकलाई विद्यार्थीले निगरानी गर्न थालेका थिए । यो नियम लागू भएपछि हालसम्म तीन जना शिक्षक र दर्जनौं विद्यार्थी कारवाहीमा परेर विद्यालयको गेटबाटै घर फर्किएका एक विद्यार्थीले बताए ।

त्यसो त गाउँपालिकाले पनि ती महिनाअघिदेखि  विद्युतीय हाजिरी लागू गरेको छ । त्यसपछि  शिक्षाको गुणस्तर सुधार हुनुका साथै शिक्षक र विद्यार्थी समेत अनुशासित बन्न थालेको बताइएको छ  ।

बिक्रम सम्बत २०६६ सालमा  जिल्लाकै नमूना विद्यालयको घोषणा भएको विद्यालय अहिले गाउँपालिकाको उत्कृष्ट विद्यालयमा पर्दछ । – प्रदेश पोर्टलको सहयोगमा