नेपालमा विद्यार्थी आन्दोलनको बिगत र वर्तमान अवस्था
- २४ माघ २०७५, बिहीबार
समग्र नेपाली राजनितीक र युग र व्यवस्था परिवर्तनका लागि सतिसाल बनेर अग्रणी भूमिकामा रहेको क्रान्तिकारी विद्यार्थी आन्दोलनको गरिमा हामीमाझ जीवितै छ ।
गौरवमय इतिहासको पर्दालाई खोलेर हेर्दा २००४ सालबाट राणाहरुको विरुद्ध जयन्तु संस्कृतम एजेन्डा माथि विद्यार्थीहरुको आवाज संगठित भयो । क्रमिक रुपमा २०२०/२०२२ सालतिर पञ्चायती निरंकुशता विरुद्ध विद्यार्थीले उठाएको आवाज फलस्वरुप पञ्चायतलाई जनमत संग्रहमा पुग्न बाध्य बनायो । २०४६ सालतिर राजतन्त्र विरुद्धको निर्णायक संघर्ष तथा पहिलो ऐतिहासिक जनआन्दोलन हुदैँ २०५२ सालबाट भएको १० वर्षे जनयुद्ध र २०६२/६३ को जनआन्दोलनको मोर्चामा सहभागी सचेत युवा विद्यार्थी समुदायको योगदान उल्लेखनिय छ । जुन आन्दोलनबाट प्राप्त उपलब्धिहरु कार्यान्वयनको तहमा शिक्षालाई नयाँ संविधानमा मौलिक हकको रुपमा तयार गरियो । प्रत्येक नेपाली जनताको छोराछोरी विद्यालयबाट बञ्चित हुन नपर्ने आधारभूत तथा माध्यमिक शिक्षा अनिवार्य र निशुल्क हुनु आज हाम्रो उपलब्धि हो ।
विगतमा विद्यार्थी संगठनहरुले गरेको परिवर्तन र योगदानलाई आत्मासात गर्दै वर्तमान र भविष्यको समउचित निति तथा कार्यक्रम सहितको दीर्घकालिन योजना निर्माण वर्तमान नेपाली राजनिती भित्रका दुई ठूला कम्युनिष्ट पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सम्वद्ध विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी) बिच पहिलो चरणमा आधारभूत आवश्यकता बनेको छ ।
देशभरिका परिवर्तनशील सचेत युवा विद्यार्थीहरुको आशा र ढुकढुकीमा स्थापित यी दूई ठूला विद्यार्थी संगठनको सांगठानिक एकता नटुंगिनाले आम विद्यार्थी, संगठनका नेता तथा कार्यकर्तामा नैरास्यता पैदा भएको छ । त्यति मात्र होइन सांगठनिक एकता नहुनाले कार्यक्रमिक असहजता समेत भोग्नु परेको छ । यसको नतिजा संगठनका लागि लाभदायक पक्कै पनि छैन ।
संगठन विधीको शासन हो । यहाँ पद्धती र प्रक्रियाहरु हुन्छन । यद्यपी संगठन भित्र गणेश प्रवृत्तिबाट नेता हुने प्रक्रिया हावी भएको छ । यस्तो परिपाटीको अन्त्य हुनुपर्छ । विद्यार्थीहरुको शैक्षिक हित र विकासका निमित्त सदैव विद्यार्थीहरु माझ उपस्थित हुने वास्तविक विद्यर्थाी नै संगठनको नेताको रुपमा स्थापित गरिनुपर्छ । अवश्य पनि यी दुई ठूला विद्यार्थी संगठनको चुनौति र अवसर दुवै छन । चुनौतिलाई अवसरमा परिणत गर्दै निरन्तर शैक्षिक परिवर्तन र विकासको पहिलो एक नम्बरको संगठन बन्नुको विकल्प छैन र त्यसो नभएमा इतिहासले छुट दिने छैन ।
जुटे जितिन्छ एकातर्फ विद्यार्थीहरुको अधिकारका निम्ती साझा घर स्ववियु स्थापना र निर्माणको पूर्व सन्ध्यामा छौ । जुन घरभित्र अभिभावकको भूमिका प्रत्येक क्याम्पसहरुमा अब बन्ने एकिकृत अनेरास्ववियू संगठनले लिनपर्छ ।
आजको २१ औँ शताब्दीको युगमा अहिलेको प्रविधीमा हुर्किएका विद्यार्थीहरुको शैक्षिक उचाईको चेतना चुलिएको छ । सोही व्यवस्था अनुरुपको प्राविधीक, व्यवहारिक र जीवनमुखी शिक्षा प्राप्त गर्नु विद्यार्थीको अधिकार हो । विद्यार्थीहरुका अधिकार प्राप्तिका निमित्त ‘व्यक्तिगत मनोभावनालाई सहायक बनाएर सांगठानिक जीत प्रधान हो’ भन्ने भावनाबाट कलम र तारा अंकित रक्त रञ्जित एकीकृत अनेरास्ववियूको झण्डा फहराउन भावनात्मक रुपमा गोलवद्ध भई एक ढिक्का भएर लाग्नुको विकल्प छैन ।
विद्यार्थी आन्दोलनमा एउटा संगिन अवसर प्राप्त गर्ने सौभाग्य यो पुस्तालाई मिलेको छ । उक्त अवसरलाई भावनात्मक र सैद्धान्तिक एकतामा रुपान्तरण गर्दै नेपाली विद्यार्थी आन्दोलनमा नयाँ आयामको यात्रा तय गर्दै वर्तमान नेकपाको सरकारले निर्दिष्ट गरेको समाजवाद उन्मुख राष्ट्र निर्माणका लागि शैक्षिक क्षेत्रबाट सहयोग गर्न भूमिका खेल्नुपर्छ ।
(लेखक : अनेरास्ववियू क्रान्तिकारी धनकुटाका सह सचिव हुन् ।)