राज्यले नचिन्दा पुर्व सांसदहरुकै बेहाल छ, कसरी सुख पाउलान् जनताले ?

  • २५ माघ २०७५, शुक्रबार

अम्बिका भण्डारी

नेता, मन्त्री  र सांसदहरु बिलासी अनि सुबिधाभोगी भएर जनताको नजरमा दुर्नाम भैरहेका बेला कुनै बेलाका आदर्शबादी र अति इमान्दार सांसदको छबि बनाएका पुर्वका पुर्व सांसद अर्थात पुर्व माननीयहरु बुढेसकालमा चाहिं दयनीय र बिचलित अबस्थामा पुगेका छन्  । मुख्यतः आर्थिक समस्याकै कारण एकजना पुर्व माननीयले त केही समयअघि घरमै झुन्डिएर आत्महत्या नै गरे ।

पन्चायत कालमा भएको राष्ट्रिय पन्चायतको चुनावमा मोरङबाट मातृका प्रसाद कोइरालालाई पराजित गरी सांसद बनेका पुर्व माननीय कर्ण धिमालले केही महिना अघि मात्र आत्महत्या गरेपछि इमान्दार र पुर्व माननीयहरुको दयनीय अवस्थाको खुलासा भएको छ । पन्चायत कालमा मोरङबाट सांसद र सेती अञ्चलको अन्चलाधीस समेत भइसकेका पुर्व सांसद कर्ण बहादुर धिमालले गत असोज २७ मा मोरङको बेलबारी नगरपालिका २ लालभित्तिस्थित आफनै घरको बरन्डामा झुन्डिएर आत्महत्या गरेका थिए  ।

छोरा अभिमन्यु र श्रीमती लक्ष्मी धिमाल राई काठमाडौंतिर नै बसेका र सम्बन्ध पनि त्यति राम्रो नभएकोले एक्लो जीवनको मानसिक पीडा झेल्दै आएका धिमाल रोगले ग्रस्त थिए । पारिवारिक कलह, कमजोर आर्थिक अवस्था, एक्लोपना, रोगब्यादको पिडा र राज्यको बेवास्ता झेल्दै आएका उनले मर्नुभन्दा अघिल्लो दिन पनि छरछिमेकीहरुलाइ आफु चाडै मर्ने बताएका थिए । नभन्दै राती २ बजेतिर पिसाब फेर्न उठेका छिमेकीले घरको बरण्डाको छातमा झुन्डिएको अबस्थामा देखे । हत्तपत्त गएर हेर्दा उनले देहत्याग गरिसकेका रहेछन् ।

पन्चायत पक्षधर भएपनि उदार स्वभाव अनि इमानदार र आदर्शवादी ब्यक्तित्व मानिने धिमालले मृत्युुपर्यन्त शरिरदानको घोषणा गरेका थिए । जस अनुसार मृत शरिरलाइ घोपा क्याम्प अर्थात धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई बुझाइएको थियोे । तर आत्महत्या गरेको कारण घोपा क्याम्पले उनको शरीर लिन मानेन र एक दुई दिनपछि घरमै ल्याएर लोहोन्द्रा खोलामा दाह संस्कार गरियो ।

धिमालको दयनीय आर्थिक अवस्थाका कारण हाइड्रोशिल लगायतका रोगको उपचारका लागि गत बर्ष स्थानीयबासीले आर्थिक सहयोग संकलन समेत गरेका थिए ।  नेकपा मोरङका नेता तथा ब्यबशायी प्रताप थापाले आफुहरुको अग्रसरतामा उनको उपचारका लागि दुई तीन पटक चन्दा उठाएर उपचार गराएको बताए ।

धिमालले धिमाल जातिहरुको भाषिक तथा सांस्कृतिक उत्थान र प्रबर्द्धनका लागि विशेष योगदान गरेका थिए । उनकै अग्रसरतामा धिमाल जातिको लिपी उत्थान र प्रबर्द्धन गर्न एक अक्षयकोष समेत खडा गरिएको छ । त्यसैगरी बेलबारीका एक दुइवटा विद्यालय स्थापनामा उनको विशेष योगदान रहेकोे नेता थापाले बताए ।

पन्चायत कालमा सांसद र अन्चलाधीश भएपनि स्वच्छ छवि भएका र देश र जनताको अहित नचाहने धिमालजस्ता आदर्श ब्यक्तिहरु आत्महत्या गर्ने अवस्था आउनुमा राज्य नै दोषी भएको थापा बताउँछन्  ।

दुई पटक सांसद भइसकेका  बेलबारी २ मै बसोबास गर्दै आएका पुर्व सांसद हर्कमान तामाङको पनि आर्थिक अबस्था त्यति मजबुत छैन । उनी पनि पहिलेको तुलनामा बिचलित  छन् । श्रष्टा समाज नामक संस्थाको अध्यक्ष रहेका तामाङ राजनीतिभन्दा साहित्य क्षेत्रतिर सक्रिय छन् । सिंगो जीवन कम्युनिस्ट पार्टीको लागि नै समर्पण गरेका उनलाई केही बर्षयता पार्टीले कुनै जिम्मेवारी दिएको छैन ।

घरमै  सानो क्याफे सन्चालन गरेर कुखुरा तथा माछापालन समेत गर्दै  छोरा बुहारीसंग लालभित्तिमा बस्दै आएका तामाङ जसोतसोकै अबस्थामा छन्  । आदर्शबादी छविकै कारण उनको जीवनीमा आधारित रहेर पुस्तक प्रकाशन र डकुमेन्ट्री बनाइदिने जस्ता विभिन्न प्रस्ताव आउने गरेका छन् । तर  उनले त्यस्तो प्रस्ताव अस्वीकार गर्दै आएका छन् । दुई पत्नीको बियोगपछि पुर्व एमाले नेतृ यशोदा अधिकारीसंग तेस्रो विवाह गरेका उनले फेरि पनि डिभोर्सको पिडा सहनुपर्यो, त्यसैले उनले हाल एक्लो जीवन जिउनु परेको छ ।

दार्जिलिङबाट नेपाल प्रवेश गरेपछि शिक्षण पेशा र त्यसपछि पुर्णकालीन राजनीति गरेका उनको जीवनमा आधारित पुस्तक प्रकाशित गर्नका लागि दार्जीलिङे र सिक्किमे साहित्यकारहरुले खर्च ब्यहोर्ने आशय व्यक्त गरेपनि तामाङले सो प्रस्ताव इन्कार गरेका छन् । तामाङले पुस्तक लेखेर केही नहुने भन्दै प्रस्ताव  इन्कार गर्ने गरेका छन् ।

तामाङ नेतृत्वको श्रष्टा समाजले एक महिना अघि दार्जीलिङ र सिक्किमका वरिष्ठ साहित्यकारहरुलाइ समेत ल्याएर १ नम्बर प्रदेश स्तरीय साहित्यिक कार्यक्रम गरेका थिए । पहिले दार्जिलिङबाट नै नेपाल आएर कम्युनिष्ट राजनीतिमा लामो समय बिताइ २०४८, २०५२ र २०६६ मा गरी ३ पटक सांसद समेत बनेका तामाङले साहित्यिक कार्यक्रमकै क्रममा ठट्यौली पाराले राज्यले पटकपटक मौका दिएपनि आफुले फाइदा उठाउन नसकेको अभिव्यक्ति दिएका थिए  । राजनीतिक जीवनमा कुनै खोट नलागेका तामाङले पुस्तक र डकुमेन्ट्री बनाउने प्रस्ताव अस्वीकार गर्नुको कारण उनमा निराशा र बिचलन रहेको निकटस्थहरु बताउँछन् ।

त्यसो त कुनैबेला भोजपुरबाट निर्वाचित भई सांसद बनेका पुर्व सांसद नरेन्द्र बस्नेत निकै बर्षदेखि राजनीतिबाट बिमुख नै छन् । मोरङकै सुन्दरहरैंचा नगरपालिकास्थित खोर्सानेमा बस्दै आएका बस्नेत  केहि बर्षअघि नेकपा मालेमा हुँदै माक्र्सवादीमा थिए । तर पनि सक्रिय राजनीतिमा नलागेका उनी झन्डै एक बर्षअघि केपी ओलीको हातबाट अवीर लगाएर नेकपामा प्रवेश गरेका छन् । सामाजिक रूपमा विभिन्न संघ संस्थामा सक्रिय रहेपनि उनी राजनीतिमा खासै सक्रिय छैनन् ।

लामो समयसम्म एउटा स्कुलमा बिना तलब पढाएका उनी कुनैबेला सांसद नहुंदै पनि भोजपुरमा ठुलो रवाफ थियोे । उनी टाइगर उपनामले समेत चिनिन्थे । तत्कालीन एमालेले सांसदको टिकट दिएताका उनलेे शिक्षकको काम छाडेका थिए । उनी  राजनीतिक रूपमा सक्रिय नभएपनि बस्नेत केही बर्षयता क्रिश्चियन बनेका छन् । केही बर्षअघि बस्नेत र अर्का पुर्व सांसद हर्कमान तामाङ क्रिश्चियन बनेको समाचार मिडियामा नै आएको थियोे । तर तामाङले सो कुराको खण्डन गरेका थिए । बस्नेत भने नियमित रूपमा चर्चमा जान्छन् । हाल बस्नेत धार्मिक रूपमा भने सक्रिय छन् । अन्य संघ संस्था र राजनीतिमा धेरै सक्रिय नभएपनी उनी तन्नेरी लक्का जवान झैं भोजपुरको अलैंची लगायत बालीनाली सम्हाल्न आफैं जान्छन् । बर्षमा दुई चार पटक मोरङ र भोजपुर ओहोरदोहोर गर्दै आएका बस्नेत बिचलित भएर क्रिष्चियन बनेको धेरैको बुझाइ भएपनि हेर्दा उनी तनाव र बिचलनमा भने देखिदैनन् ।

पुर्व सांसदहरुले दयनीय अबस्थामा बाच्नुपर्ने र आत्महत्यासम्म गर्नुपर्ने अवस्था आउनुमा राज्य नै दोषी भएको भन्दै तिनैजना पुर्व सांसदहरुसंग निकटको सम्बन्ध भएका प्रताप थापा भन्छन् – पुर्व माननीयहरुको अनुभव, सीप र क्षमता अनुसार राज्यले कुनै  जिम्मेवारी दिएर सहज वातावरण नबनाउने हो भने अरु इमान्दार नेता कार्यकर्ताको नियती पनि कर्ण धिमालको जस्तै हुनसक्छ ।  (जनआस्था साप्ताहिकमा प्रकाशित)