केराबारीमा बलात्कार र हिंसा बिरोधी अभियान, आत्मरक्षा तालिम लिदै युवतीहरु

  • १ फाल्गुन २०७५, बुधबार

महिला तथा बाल वालिकामाथि हिंसा र बलात्कारका घटना बढिरहेका बेला मोरङको केराबारीमा महिला हिंसा विरुद्ध आत्मरक्षा तालिम शुरु गरिएको छ ।

“महिला हिंसा विरुद्ध हाम्रो संकल्प, खेलकुदमा महिला सहभागिता उत्तम विकल्प” भन्ने नाराका साथ माघ २८ देखि आयोजित प्रथम केराबारी खेलकुद महोत्सवको अबसरमा महिला तथा बालिकाहरुलाई तालिम दिन थालिएको हो ।  बलात्कार तथा हिंसाजन्यबाट बच्ने उपाय र सतर्कताबारे ज्ञान दिलाउने उद्देश्यले माघ २९ देखि शुरु भएको तालिम फागुन ७ गतेसम्म चल्नेछ ।

केराबारी गाउँपालिकाको सहयोग र खेलकुद विकास समिति केराबारी र महिला संजाल केराबारीको आयोजनामा भएको सो तालिम केआइएफ कुरोदय मार्सल आर्टस संघले गरेको छ । तालिममा कुरोदय मार्सल आर्टसका तीन जना प्रशिक्षकहरु प्रकास वस्नेत, वीरवहादुर लिम्बू र सन्तोष सेवकले प्रशिक्षण दिनेछन्  । जसमा बस्नेेत प्रमुख प्रशिक्षक छन् ।

आत्मरक्षा तालिममा १४ वर्षदेखि २२ वर्षसम्मका  ५१ जना युवतीहरु सहभागी छन् । तालिममा केयु एकेडेमी, सार्वजनिक मावि, फेवा सेकेण्डरी बोर्डिङ स्कूल र मच्छिन्द्र माध्यमिक विद्यालयका छात्राहरु सहभागी छन् । तालिमको समापनको दिन फागुन ७ गते मच्छिन्द्र खेल मैदानमा प्रशिक्षार्थी युवतीहरूले सिकेका कला कौशल प्रदर्शन समेत गर्नेछन् । जसमा उत्कृष्ट कला प्रदर्शन गर्नेलाई पुरस्कृत समेत गरिने खेलकुद बिकास समिति केराबारीकी संयोजक तथा केराबारी गाउँपालिकाकी उपाध्यक्ष शान्ति कुमारी लिम्बूले बताइन् ।

केराबारी खेलकुद विकास समितिले सप्ताहब्यापी रुपमा संञ्चालन खेलकुद सप्ताहकै बेला खेलकुदको माध्यमबाट पनि महिला हिंसा तथा बलात्कारका घटना रोक्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएका छन् ।